Logo

प्रचण्ड र माधव नेपालका निम्ति गठबन्धनलाई नै सिद्धान्त बनाउनुपर्ने बाध्यता छः मीन विश्वकर्मा



काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले प्रचण्ड र माधवकुमार नेपालका निम्ति गठबन्धनलाई रणनीतिभन्दा पनि सिद्धान्त बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “चुनाव भनेको शान्तिपूर्ण युद्ध हो । युद्धमा गोली चल्छ, चुनावमा बोली (मत) चल्छ । चुनावमा तालमेल वा गठबन्धन सिद्धान्त होइन, रणनीति हो । तर माधव नेपाल र प्रचण्डका निम्ति त सिद्धान्त नै बनाउन पर्ने बाध्यता छ । प्रचण्डले हिजो एमालेसँग मिलेर स्थान बनाएको हो । माधवको नयाँ पार्टी हो । त्यसैले उहाँहरुका निम्ति कुनै न कुनै दलसँग तालमेल अनिवार्य हुन्छ ।”
नेपाली कांग्रेस गठबन्धन नगरी एक्लै जाने स्थितिमा रहेको उनको दाबी छ । विश्वकर्माले भने, “नेपाली कांग्रेस पुरानो र लोकतान्त्रिक दल हो । ठूलो पार्टी पनि हो । कांग्रेसले ५ वर्षअघि हारेको चुनावमा पनि जनमतका हिसाबले पहिलो पार्टी हो । एक करोड मतमध्ये कांग्रेसले ३५ लाख, एमालेले ३१ र माओवादीले १४ लाख पाएका थिए । तर जति धनी पनि बैंकिङ कारोबार त गर्नुपर्छ । स्थानीय तहमा आवश्यकता अनुसार दोस्रो, तेस्रो भएको ठाउँमा तालमेल गर्न सक्छन् ।”
चुनाव फरक फरक चिह्नमा मतदान गर्दा समस्या आउने भएकाले पार्टीका साथीहरुले गठबन्धन गर्न नचाहेको पनि बताए । उनले भने, “हामीले सहकार्य गर्न हुन्न, वा एक्लै जान्छौं भन्ने सिद्धान्त बनाउनुभन्दा पनि स्थानीय तहमा कोसँग तालमेल गर्दा आफ्नो दलको राम्रो निर्णय आउँछ, त्यहाँ तालमेल गर्ने खुकुलो निर्णय गर्छ । सधैंभरि फरक फरक चिह्नमा मतदान गर्दा संगठनमा असर गर्छ । आफ्नै पार्टीको चिह्नमा मतदान गराउनुपर्छ भन्ने मत पनि नराम्रो होइन ।”
लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा सामेल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा स्वतन्त्र रहेको पनि औंल्याए । उनले भने, “लोसपाले सरकारलाई विश्वासको मत दिएको छ । उसले सरकारमा आउन चाह्यो भन्ने नसक्ने कुरा छैन । प्रधानमन्त्रीलाई सरकारमा ल्याउने अधिकार छ ।”
उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग पारित नभए पुनः न्यायालयमा फर्कन सक्ने औंल्याए । उनले भने, “महाभियोग सफल वा असफल के हुन्छ, अहिले नै भन्न सकिन्न । न्यायालय नै नचल्ने अवस्थाका कारण राजनीतिक दल र संसद्ले काम गर्नुपर्ने देखियो । अहिले जुन दलले संसद् अवरोध गरेको छ, त्यसका साथीहरु पनि महाभियोग प्रस्ताव सिफारिस समितिमा छन् । समितिमा ती साथीहरु कस्तो रुपमा प्रस्तुत हुन्छन्, त्यस आधारमा महाभियोगको टुंगो ढिलो वा छिटो हुन्छ ।”
अर्को प्रसंगमा नेता विश्वकर्माले प्रकाश सपुतले म्युजिक भिडियोमा समाजको ऐना देखाएको बताए । उनले थपे, “गीत, संगीत समाजको ऐना हो । समाजमा व्याप्त पीडालाई प्रकाश सपुतले जीवन्त प्रस्तुति गरेका छन् । माओवादीका साथीहरु जनयुघको राम्रो कुरालाई गौरब गर्नुहुन्छ भने तिनले दुःख पाएको कुरालाई नसहनु विरोधाभास हो । कलाकारलाई धम्की दिनु हिंस्रक अभिव्यक्ति हो । यसमा विवाद गर्नुभन्दा आत्मसात् गर्नु उपयुक्त हुन्छ । मनोज गजुरेलले कला प्रस्तुत गर्दा खित्का छाडेर हाँस्ने, माओवादीका कमीकमजोरी देखाउँदा किन चीत्कार गर्नुपर्यो ?”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot