Logo

भारतले २७ मार्चबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित बनाउँदै



एजेन्सी, ३० फागुन । भारतले दुई वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानलाई पुनः संचालनमा ल्याउने भएको छ । कोरोना भाइरसको जोखिमका कारण कडाई गरेको उडानमा परिवर्तन गर्दै २७ मार्चबाट नियमित उडान पुनः सञ्चालनमा ल्याउन लागेको भारत सरकारले जनाएको हो ।

विश्वभर भ्याक्सिन लगाउने क्रममा बढेको, सम्बन्धित निकायसँग सल्लाह बमोजिम भारत सरकारले व्यवसायिक अन्तर्राष्ट्रिय उडानलाई पुनः सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ ।

भारतको उड्ययन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा स्वास्थ्य निर्देशिका पालना गरी सञ्चालन गरिने उल्लेख गरेको छ ।

भारतले निश्चित मापदण्ड तोकेर नेपालसहित अफगानिस्तान, अष्ट्रेलिया, बहराइन, बङ्गलादेश, भुटान, क्यानडा, इथियोपिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इराक, जापान, काजिकिस्तान, केन्या, कुवेत, मालदिभ्स, मौरिसस, नेदरल्यान्ड, नाइजेरिया, ओमान, कतार, रुस, रुवान्डा, साउदी अरेबिया, सिसेलिस, सिंगापुर, श्रीलंका, स्वीटजरल्यान्ड, तान्जानिया, युक्रेन, युएई, बेलायत, अमेरिका र उज्वेकस्तानमा सन् २०२१ यता उडान सञ्चालन गर्दै आएको छ । अब भने नियमित उडानहरु स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याइने जनाइएको छ ।

कोरोना भाइरसको ओमिक्रन प्रजाति आएपछि भारतले यसअघि नै पुनः उडान नियमित गर्ने भनेपनि रोकेको थियो । सन् २०२० को मार्चयता भारतले उडान नियमित गरेको थिएन ।



प्रतिक्रिया दिनुहोस्