Logo

‘संसदको विघटन केपी ओली एक्लैले गरेको होइन, देश/विदेशबाटै ठूलो षडयन्त्र भएको थियो’ : प्रचण्ड



काठमाडौं, फाल्गुन ३०। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शकितहरुले षडयन्त्र गर्दै आएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गरेका हुन् ।

अध्यक्षले प्रचण्डले भने, ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिंग थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’ माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिंग अन्तर्गतको षडयन्त्र भएको र सो संघर्षमा केपी ओली एउटा माध्यम भएको उहाँको भनाई थियो।

अध्यक्ष प्रचण्डले गरेको सम्बोधनको केही अंश–

“यो षडयन्त्रविरुद्ध हामी सडकमा उत्रियौं र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौं । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले नै जनतालाई अपील गरेपछि देशैभरी बिभिन्न तह र तप्काका जनता यो डिजाइनविरुद्ध संघर्षमा होमिए ।

लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि यो देशी विदेशी सेटिंग असफल भएको हो । माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको हो । नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन । त्यतिबेला नेपाली कांग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ । नेपाली कांग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं ।

दोश्रोपटक समेत प्रतिगमनकारीहरुले संविधानमाथि प्रहार भएर संसद विघटनभएपनि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि हामीले गठबन्धनको निर्माणको पहल गर्यौं । माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस भनेर धेरैचोटी अनुरोध गर्यौं ।

अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरुले तपाईहरु पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो । तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौं । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।

त्यसपछि दोश्रोपटकको विघटनलाई गठबन्धनको माध्यमबाट असफल तुल्यायौं । त्यहाँ पनि माओवादी केन्द्रको मुख्य भूमिका रह्यो । हामीले नेपाललाई यहाँसम्म ल्याउन माओवादी केन्द्र र यसको नेतृत्वले कसरी भूमिका खेल्दै आयो भन्ने कुरा सूक्ष्मरुपमा बुझ्नुपर्छ ।

यी सबै प्रयासले केपी ओली बालुवाटारबाट बालकोटमा पुगे । सातवटै प्रदेशका मुख्यमन्त्री घर फर्किए । त्यसैले अहिले विचलित र अस्पष्ट हुनु जरुरी छैन । आत्मसमीक्षा गर्दै अघि बढनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot