Logo

नेपालगन्ज विमानस्थलको स्तरोन्नति अलपत्र



बाँके, चैत १ । नेपालगन्ज विमानस्थलको स्तरोन्नति अलपत्र परेको छ । नेपालगन्ज–दिल्ली उडानको पूर्वाधार विकासका लागि नयाँ टर्मिनल भवन र धावनमार्गको विस्तार गर्ने योजना अघि सारिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यहाँको बजेट कटौती गरिदिएपछि स्तरोन्नति अलपत्र परेको हो ।

नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन तीन अर्बको टेन्डर आह्वान भएको थियो । विभागीय मन्त्रीको निर्देशनमा टेन्डर रद्द गरिएको छ । टेन्डर प्रक्रिया अघि बढेर काम गर्नुपर्नेमा रद्द भएपछि नेपालगन्ज विमानस्थलको स्तरोन्नति रोकिएको हो ।

२०३७ सालमा बनेको विमानस्थलको टर्मिनल भवन साँघुरो भएको छ । पटकपटक गरेर एक हजार सात सय मिटरको धावनमार्ग बनाइएको छ । धावनमार्गलाई दुई हजार पाँच सय मिटरको बनाउने योजना अघि सारिएको थियो ।

नेपालगन्ज काठमाडौंपछिको व्यस्त हुने विमानस्थलमा पर्छ । यहाँबाट दैनिक ५० देखि ६० वटा उडान हुन्छन् । पछिल्लो केही वर्षदेखि नेपालगन्ज–दिल्ली उडानका लागि नियमित प्रयास भइरहेको छ ।

नेपालगन्ज विमानस्थलको स्तरोन्नति भएमा नेपालगन्ज–दिल्ली उडान सम्भव रहेको छ । पश्चिम नेपालको व्यस्त विमानस्थलको स्तरोन्नति गर्नुपर्नेमा मन्त्रीले आफ्नो क्षेत्रतिर बजेट पार्ने प्रयास गर्दा नेपालगन्ज पछाडि धकेलिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्