Logo

आम कार्यकर्ताको चाहनालाई नेतृत्वले लत्याउन सक्दैनः अर्जुननरसिंह केसी



काठमाडौं, १ चैत । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका आम कार्यकर्ताको चाहनालाई नेतृत्वले लत्याउन नसक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा नेता व्यवस्थापन बाहेक नीतिगत र वैचारिक छलफल भएन । स्थानीय निर्वाचन अगाडि नीति महासमिति सम्भव भएन । त्यसैले अब ७७ जिल्ला र ७ प्रदेशको राय लिएर केन्द्रीय कार्यसमितिमा छलफल र बहस जरुरी छ ।”
गठबन्धनमा जाने वा नजाने सम्बन्धमा पार्टीभित्र गम्भीर छलफल आवश्यक रहेको उनले औंल्याए । केसीले भने, “केन्द्रीय कार्यसमितिमा जे निष्कर्षमा पुगिन्छ, पार्टीको हितमै पुगिन्छ । हामी गठबन्धनमा जाने निर्णयमा पनि पुगेका छैनौं, नजाने निर्णयमा पनि पुगेका छैनौं । तर आम कार्यकर्ताको चाहनालाई नेतृत्वले लत्याउन सक्दैन ।”
उनले सुशासन र विकासका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । केसीले थपे, “जनताका बारेमा कांग्रेस बोलेको छ, फेरि पनि बोल्छ । भ्रष्टाचारको उन्मुक्ति नभईकन सुशासन कायम हुन्न, सुशासन कायम नभएसम्म लोकतन्त्र बलियो हुन सक्दैन । सर्वोच्च अदालतको न्यायाधीशको संयोजकत्वमा भ्रष्टाचार छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ ।”
एमसीसीमा सडकमा आएका कुरा निराधार भएको पनि केसीले बताए । उनले भने, “एमसीसीमा नेमकिपा र जनमोर्चाबाहेक संसद्मा रहेका सबै दल संलग्न छन् । एमालेले त टेबुल गर्नै खोजेको हो । विकासमा राजनीति जरुरी छैन । मुलुकको भौगोलिक संवेदनशीलता र जटिलता कांग्रेसले बुझेको छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot