शुष्मा नेपाल : श्रीमद्भागवत गीता हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक ग्रन्थ हो। भागवत गीता ब्रह्माविद्याको स्वरुप हो। भागवत गीत विश्वविद्यालय, गुरुकुल, मठमन्दिरमा दिएको शिक्षा नभई युद्ध भूमिमा आजभन्दा लगभग पाँच हजार वर्षअघि गुरु कृष्णले शिष्य अर्जुनलाई दिएको दिव्य उपदेश हो । भगवान कृष्णले भन्नु भएको छ- गीतामा भगवानको अमृत वचन छ। गीताको व्यवहार जसले जुन भावले गर्दछ, उसले त्यसैअनुसार यसबाट आफ्नो अनुकुल फल पाउँछ। भागवत गीता योगीहरूको लागि योगशास्त्र, दार्शनिकहरूको लागि दर्शनशास्त्र, वैज्ञानिकहरूको लागि विज्ञानशास्त्र, नैतिकलाई नीति र साधुलाई सदाचारको रुपमा पाइन्छ ।
भागवत गीताको दार्शिनिक दृष्टिकोण :-
कर्मयोग, भक्तियोग र ज्ञानयोगलाइ श्रीमद्भागवत गीताको दार्शनिक दृष्टिकोण मानिन्छ। अठार अध्यायमा विभक्त भागवत गीतामा प्रत्येक अध्यायमा साधकले गर्ने कर्म तथा त्यसको फलकाबारेमा बताइएको छ। प्रथमदेखि छैटाैँ अध्यायसम्म कर्मयोग, सातौँदेखि बाह्राैँसम्म भक्तियोग र तेह्रौँदेखि अठारौँ अध्यायसम्म ज्ञानयोग गरेर गीतामा तीन योग विभाजन गरिएको छ। भागवत गीतामा चित्तवृत्ति निरोध अवस्थामा प्राप्तिका लागि पहिले के कस्तो अवस्थामा भोग गर्नुपर्ने हुन्छ र पछि के कस्ता फल प्राप्त हुन्छन् भन्ने कुरालाई दृष्टान्तसहित बताइएको छ। गीता अध्ययन गरी साधकले क्रियाको श्रद्धा र भक्तिपूर्वक जति-जति आफ्नो साधनामा उन्नति गर्दै जान्छ, त्यति नै गीताको सबै कुराको निजबोधबाट नै स्पस्ट ज्ञान हुँदै जान्छ। विश्व रूपमा परमात्माको अनन्तरुप दर्शन गरेर साधकको भक्तिको चरम विकाश स्वरुप उसलाई आत्माज्ञान लाभ हुन्छ। यसलाई भागवत गीताको भक्तियोग मानिन्छ। यसमा कर्म र ज्ञान एक आपसमा मिलेको हुन्छ।
भागवत गीतामा साधना:
हिन्दु धर्मशास्त्रले परलोक प्राप्तिका साधनामा पूजाअर्चना,जप,तप,योग,भक्ति आदि छन् । देवालय, उपाश्रय, तलाउ, कुवा, धर्मशाला आदि निर्माण गर्नुलाई साधना मानिन्छ । कर्म, उपासना, ज्ञान, योग र भक्ति गरी साधनालाई पाँच पथमा विभाजन गरिएको छ ।
भागवत गीतामा कर्म:
जन्मदेखि मृत्युसम्मका सोह्र संस्कारहरूलाई कर्म भनिन्छ । कर्मकाण्ड शारिरिक शुद्धिका लागि गर्ने धार्मिक प्रक्रिया हाे । कर्म नगर्नुभन्दा कर्मफल त्याग्नु उत्तम मानिन्छ। कर्म, अकर्म, विकर्मको स्वरुप जानेर कर्म गर्नु पर्दछ । कर्मफल नत्याग्नाले मृत्युपछि पनि कर्मफल भोग्नु पर्ने मान्यता छ।
भागवत गीतामा ज्ञान:
वेद, उपनिषद्, षड्दर्शन, पुराण, रामायण, महाभारत, गीता, ब्रह्मासुत्र आदिको अध्ययनद्वारा ज्ञान प्राप्त गरिन्छ। ज्ञानले जीव, जगत, माया र ब्रह्राको पहिचान गराउँछ ।
भागवत गीतामा भक्ति:
प्रभुको भजनमा लीन हुनु भक्ति हो। भक्ति श्रवण, कीर्तन, स्मरण, पादसेवन, संख्यभाव, अर्चना, वन्दना, दास्यभाव र आत्मनिवेदन गरी नौ प्रकारका छन् । यसरी विभिन्न किसिमको भक्तिद्वारा ईश्वरलाई प्राप्त गर्न सकिन्छ भन्ने विश्वास रहिआएको छ ।
भागवत गीतामा भएका अठार अध्यायलाई छोटकरीमा हेर्दा :
प्रथम अध्याय :- गीताको पहिलो अध्याय अर्जुन- विषाद योग रहेको छ। यसमा ४६ श्लोकद्वारा अर्जुनको मनस्थितिको वर्णन गरिएको छ । यसमा भनिएको छ कि कसरी अर्जुन आफन्तसँग युद्ध गर्न डराउँछन् र उनलाई भगवान श्रीकृष्णले कसरी सम्झाउनु हुन्छ।
दोस्रो अध्याय :- गीताको दोस्रो अध्याय ‘सांख्य योग‘मा कुल ७२ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, संख्यायोग, वृद्धियोग र आत्मको ज्ञान दिनुहुन्छ। यो अध्याय वास्तवमा पूरा गीताको सारांश हो। यसलाई एकदमै महत्त्वपुर्ण भाग मानिन्छ।
तेस्रो अध्याय :- गीताको तेस्रो अध्याय कर्मयोग हो। यसमा ४३ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई सम्झाउनु हुन्छ कि परिणामको चिन्ता नगरी हामीले आफ्नो कर्म गर्नुपर्छ ।
चौथो अध्याय :- ज्ञान कर्म सन्यास योग गीताको चौथो अध्याय हो। जसमा ४२ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशका लागि गुरुको अत्याधिक महत्त्व बताउनुहुन्छ।
पाँचौ अध्याय :- कर्म सन्यास योग गीताको पाँचौँ अध्याय हो, जसमा २९ श्लोक छन् । यसमा अर्जुनले श्रीकृष्णसँग सोध्नु हुन्छ कि कर्मयोग र ज्ञानयोगमध्ये कुन चाहिँ उत्तम छ ? तब श्रीकृष्णजीले भन्नुहुन्छ– दुवैको लक्ष्य एकै हो । तर, कर्मयोग अभिनयका लागि उत्कृष्ट हुन्छ ।
छैटौं अध्याय :- आत्मसंयम योग गीताको छैटौं अध्याय हो, जसमा ४७ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई अष्टांग योगकाबारेमा बताउनुभएको छ । उहाँले बताउनु भएको छ कि कुन प्रकार मनमा भएको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ।
सातौं अध्याय :- ज्ञानविज्ञान योग गीताको सातौं अध्याय हो, जसमा ३० श्लोक छन् । यसमा श्रीकृष्ण निरपेक्ष वास्तविकता र त्यसको भ्रामक ऊर्जा ‘माया’काबारेमा अर्जुनलाई बताउनुहुन्छ।
आठौं अध्याय :- गीताको आठौं अध्याय अक्षरब्रम्हायोग हो, जसमा २८ श्लोक छन् । गीताको यो अध्यायमा स्वर्ग र नर्कको सिद्धान्त सामेल गरिएको छ। यसमा मृत्युअघि व्यक्तिको सोच, अध्यात्मिक संसार तथा नर्क र स्वर्ग जाने राय बताएको छ।
नवौं अध्याय :- राजविद्याराजगृहा योग गीताको नवौं अध्याय हो, जसमा ३४ श्लोक छन् । यसमा श्रीकृष्णले आन्तरिक ऊर्जाले सृष्टिलाई व्याप्त बनाउँछ, त्यसको सिर्जना गर्छ र पूरा ब्रह्माण्ड नष्ट गर्छ भन्ने बताएको छ।
दशौं अध्याय :- विभुती योग गीताको दशौं अध्याय हो, जसमा ४२ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुलाई भन्नुहुन्छ कि, कसरी सबै तत्त्व र आध्यात्मिक अस्थितत्त्वको अन्त्यको कारण बन्छ।
एघारौं अध्याय :- विश्वरुप दर्शन योग गीताको एघारौं अध्याय हो, जसमा ५५ श्लोक छन् । यस अध्यायमा अर्जुनको निवेदनमा कृष्णले आफ्नो विश्वरुप धारणा गर्दछ।
बाह्रौं अध्याय :- भक्तियोग गीताको बाह्रौं अध्याय हो, जसमा २० श्लोक छन् । यसका साथै उनले भक्तियोगको वर्णन अर्जुनलाई सुनाउनुहुन्छ।
तेह्रौं अध्याय :- क्षेत्रक्षत्रज्ञ विभाग योग तेह्रौं अध्याय हो, यसमा ३५ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई क्षेत्रक्षत्रज्ञको ज्ञानकाबारेमा तथा सत्त्व,रज र तम् गुणद्वारा राम्रो योनिमा जन्म लिने उपाय सिकाउनु भएको छ।
चौधौं अध्याय :- गीताको चौधौं अध्याय गुणत्रय विभाग योग हो, यसमा २७ श्लोक छन् । यसमा कृष्णले सत्त्व,रज र तम् गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्त्य गतिको विस्तारपूर्वक वर्णन गर्नुहुन्छ । अन्त्यमा यी गुण पाउने उपाय र यसको फल पनि बताउनुहुन्छ ।
पन्ध्रौं अध्याय :- गीताको पन्ध्रौं अध्याय पुरुषाेत्तम योग हो, यसमा २० श्लोक छन् । यसमा भगवान श्रीकृष्णजी भन्नुहुन्छ कि दैवी प्रकृतिवाला ज्ञानी पुरुष सर्व प्रकारबाट मेरो भजन गर्छ तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुष मेरो उपहास गर्छ ।
सोह्रौं अध्याय :- दैवासरसंपद्विभाग योग गीताको सोह्रौं अध्याय हो, जसमा २४ श्लोक छन् । यसमा श्रीकृष्ण स्वाभाविक रीतिले दैवी प्रकृतिवाला ज्ञानी पुरुष तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुषको लक्षणकाबारेमा बताउनुहुन्छ।
सत्रौं अध्याय :- श्रद्धात्रयविभाग योग गीताको सत्रौं अध्याय हो, यसमा २८ श्लोक छन् । यसमा श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ कि शास्त्र विधिको ज्ञान नभएको कारणले शास्त्र विधि छाड्नुमा यज्ञ, पूजा आदि शुभकार्य त श्रद्धापूर्वक गर्छन्, त्यसको स्थिति के हुन्छ ।
अठारौं अध्याय :- मोक्ष- सन्यास योग गीताको अठारौं अध्याय हो, यसमा ७८ श्लोक छन् । यश अध्याय पछिल्लो सबै अध्यायको सारांश हो। यसमा अर्जुनले श्रीकृष्णसँग न्यास अर्थात् ज्ञानयोग र त्याग अर्थात् फलासक्रिरहित कर्मयोगको तत्त्व जान्ने इच्छा प्रकट गर्नुहुन्छ।
भागवत गीताको शैक्षिक दृष्टिकोण :-
कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई शिक्षासँग सम्बन्धित गराउनु भागवत गीताको शैक्षिक दृष्टिकोण हो। मानिसले सुखको धेरै चहाना गर्दछ। तत्वदर्शी योगीहरूले जगतमा पदार्थहरू छन्, तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ, त्यो क्षणिक र परिमणि र अनित्य छ भन्ने देखिन्छ। सबै कुराबाट सुख पाउने अभिलाषा हुन्छ । तर, यी सबै संसारका पदार्थजन्य सृष्टि र नाशका कारण रूपमा छ। यसमा मनलाई संयुक्त गर्दा जुन सुख वा आनन्दको उदय हुन्छ, त्यो नाश हुँदैन र नित्य नविन रूपमा आनन्दको उदय हुन्छ । अनन्त र नित्य हुँदा उपादेयतामुलक मानिन्छ।
हिन्दु धर्मको मुख्य धार्मिक ग्रन्थका रुपमा रहेको भागवत गीतामा सात सय श्लोकहरू छन्। कर्म गर्ने तर फलको आशा नगर्ने सोचले व्यक्ति अगाडि बढ्नु पर्दछ। तिमी आफूले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको शैक्षिक दृष्टिकोण हो । त्यसैले हामीले शिक्षा दिँदा पनि व्यक्तिलाई फलको मात्र बढी लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताले जोड दिन्छ ।
शिक्षा चेतनाको माध्यम हो । यसबाट व्यक्तिमा असल र खराब कार्यको वास्तविकता पहिचान हुन्छ । भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई शिक्षा यसको माध्यम, पाठ्यक्रम, सिकाइ प्रक्रिया र प्राप्त उपलब्धिमा एकाकार गर्न सक्नु भागवत गीताको शैक्षिक दृष्टिकोण हो । भागवत गीतामा बताइएको धर्म, ईश्वर, कर्म, भक्ति, ज्ञान, मोक्ष, आत्मा, परआत्मा र देहका सबै कुराहरू आजको मानवको लागि मात्र नभई सम्पूर्ण प्राणीका लागि सत्य र वास्तविक भएका छन् ।
भागवत गीताको शैक्षिक उपयोग :-
१ विद्यार्थीहरूमा असल आचरणको विकास गर्ने
२ सदाचार पालना गर्ने
३ आफ्नो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने
४ मान्यजनको सेवा तथा आदर सत्कार गर्ने
५ जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई काम गर्ने
६ आफ्नो कर्ममा विश्वास गर्ने
७ आफूलाई सहयोग गर्ने मित्रलाई कहिले पनि विश्वासघात नगर्ने
८ ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने
९ भक्तिको माध्यमबाट ईश्वरलाई खुसी बनाउने
१० सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने आदि।
निष्कर्ष : भागवत गीतामा अठार अध्याय र सात सय श्लोकहरु समावेश छन् । यिनिहरू महत्त्वपूर्ण छन् । महाभारतमा अर्जुनको मनमा उठेका अनेकौं प्रश्नहरुको उत्तर दिने क्रममा भगवान कृष्णद्वारा प्रदान गरिएको ज्ञानयुक्त कालजयी उपदेशहरू श्रीमद्भागवत गीतामा प्रशिद्ध छन् । धन्यवाद