Logo

एमालेले किन डाक्यो संसदीय दलको बैठक ?



काठमाडौं, २ चैत्र । नेकपा एमालेले संसदीय दलको बैठक डाकेपछि चासो बढेको छ । सरकारले १ चैत्रमा मन्त्रिपरिषदको बैठक डाकेर संसद अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपतिसमक्ष गरेपछि सोहीबमोजिम निर्णय समेत भइसकेको छ । त्यसबारे एमालेले समिक्षा गर्ने बताइएको छ ।

आज ३ बजे डाकिएको एमाले संसदीय दलको बैठकमा संसद अधिवेशन अन्त्य पछि सरकारले चाल्न सक्ने कदमबारे पनि छलफल हुने बुझिएको छ । संसद अधिवेशन नहुँदा विभिन्न समयमा अध्यादेश ल्याउने परिपाठी विकास हुँदै आएको छ । सरकारले अध्यादेशहरु ल्याउने सम्भावना पनि रहेको बुझिएको छ ।

संसदमा विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पनि अधिवेशन अन्त्य सँगै अड्किएको छ । यसबारे पनि एमालेको चासो देखिन्छ ।

एमालेले केही न्यायाधीशहरुमाथि महाभियोग लगाउन खाली कागजमा सांसदहरुको हस्ताक्षर समेत संकलन गरेर राखेको छ । अर्कोतर्फ, सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव पनि ल्याउने तयारीको चर्चा थियो । अब विशेष अधिवेशन मागेर मात्र यी प्रक्रियाहरु अगाडि बढाउन सकिने अवस्था छ । एमालेले सबै विषयमाथि छलफलको तयारी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्