Logo

जिल्ला अस्पताल ताप्लेजुङको अनियमितताको दुगन्ध बाहिरियो, चिकित्सकले मागे सुरक्षा



ताप्लेजुङ, २ चैत्र । जिल्ला अस्पताल ताप्लेजुङमा अनियमितता भएको खबर बाहिर आएको छ । सोही विषयमा भएको छलफलपछि आफुहरु असुरक्षित भएको भन्दै केही डाक्टरले बुधबार सेवा प्रवाह समेत नगरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलका अनुसार अस्पतालको विषयमा छलफल गर्न आज दिउसो २ वजे अस्पतालमै बैठक बोलाइएको छ ।

डाक्टरहरुले आफुहरु असुरक्षित भएको भनेपछि सुरक्षाको जिम्मा लिएको र प्रहरीको टोली अस्पतालमा परिचालन गरेको पोख्रेलले बताए । तर के कारणले किन असुरक्षित भन्ने विषयमा प्रशासन मौन रहेको छ । यद्यपी सशस्त्र प्रहरीको टोली गाडी सहित अस्पताल परिसरमा राखिएको छ ।

‘सबै कुरा भोलिनै छलफल हुन्छ, पत्रकारहरु पनि आइदिनुहोस’ पोख्रेलले भने । अस्पतालमा बीमा गरिएका बिरामीहरुको प्रेस्किप्सनमा लेखिएभन्दा बढी औषधी थप गरिएको र त्यसै विषयमा विवाद भएको जनाइएको छ । यो बदमासीमा क–कस्को कस्तो संलग्नता छ भन्ने एकिन हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । यो विषयमा जे भएको हो त्यो सार्वजनिक हुने र सोही अनुसारको कारवाही गरिनेमा ढुक्क हुन उनले आग्रह गरे ।

उता अस्पतालमा भने अस्पताल प्रमुख सोनिङ लामा लगायतले मात्रै सेवा प्रवाह गरेका छन् । डा.लामा र प्रमुख जिल्ला अधिकारीबीच प्रशासन कार्यालयमा छलफल भएको थियो । केही डाक्टरले असुरक्षाको कारण जनाउँदै जिल्ला छोड्ने मनस्थिति बनाएपनि प्रशासनले सुरक्षा दिन्छौं भन्दै रोकेको पनि प्रशासन श्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्