Logo

वनमन्त्री यादवले समस्या समाधान गर्नेमा शुक्लाफाँटा आरक्ष संघर्ष समिति विश्वस्त



काठमाडौं, २ चैत । शुक्लाफाँटा आरक्ष संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले आफुहरुको समस्या समाधानका लागि वनमन्त्री रामसहाय प्रसाद यादव र सचिव डा. प्रेम नारायण कँडेल सकारात्मक देखिएको बताएका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मन्त्री यादवले पीडित पक्षलाई सम्पूर्ण प्रमाण जुटाउन आग्रह गर्दै पुषको २३ गतेभित्र सकारात्मक कदम चाल्ने आश्वासन दिएको जानकारी दिए । चन्दले उक्त मितिसम्म आफुहरुको माग पूरा नभए काठमाडौंमा आएर कडा आन्दोलन गर्न बाध्य हुने पनि चेतावनी दिए ।

‘सरकारले डिजीको संयोजनमा समिति त बनायो तर, त्यसमा जनताको भएन भनेर मैले त्यो प्रतिवेदन हिजो नै सरकारलाई बुझाइदिएँ’–उनले भने । यस्तै, उनले सरकारले २० वर्षसम्म पीडितको समस्यालाई टुलुटुलु हेरेरमात्र बसेको भन्दै तत्काल आरक्ष पीडितलाई न्याय दिनुपर्ने बताए ।

‘हैकमवादीहरुले गरिबको टाउकोमाथि राजनीति गरेर खेलवाड गर्न खोजे । यसरी जनतामाथि खेलवाड गर्नेमाथि सरकारले कारबाही नगरे जनताले नै कारबाही गर्छन्’–उनले भने ।

शुक्लाफाँटा आरक्षण संघर्ष समितिका तर्फबाट बोल्दै रामसिंह बोहोराले शुक्लाफाँटा निकुञ्जमा परेका १४ वटा शिविर र २५ सय ७३ परिवारको कुरा आफुहरुले सरकारसमक्ष राखेको जानकारी दिँदै अहिलेको गठबन्धन सरकारले समस्याको समाधान गर्नेमा विश्वास व्यक्त गरे । ‘सरकारसँग कुरा राखेका छौं । वनमन्त्री पनि सकारात्मक देखिनुभएको छ,’उनले भने ।

विश्व हिन्दु एकता परिषदको राष्ट्रिय युवा शक्ति संगठनका अध्यक्ष किशनजंग बहादुर सिंहले २० वर्ष हुँदापनि सरकारले समस्याको समाधान ननिकालेको भन्दै वर्तमान सरकारले पीडितलाई न्याय दिनुपर्ने बताए ।

यस्तै, उनले आफु आरक्ष पीडितको पक्ष रहेको भन्दै माग पुरा नभएको अवस्थामा गरिने आन्दोलनमा आफूहरुले पनि साथ दिने प्रतिबद्धता जनाए ।

 



प्रतिक्रिया दिनुहोस्