Logo

तोरन्ल पर्वको अवसरमा केन्द्रीय सदस्य गौचनद्धारा शुभकामना व्यक्त



म्याग्दी, ३ चैत्र । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाती थकाली समुदायले आज तोरन्ल (फागुपुर्णिमा) पर्व धुमधामसँग मनाएका छन् । यहि अवसरमा थकाली समाजको केन्द्रीय सदस्य तथा होटल व्यवसायी बिमला गौचनले सबैलाई  शुभ कामना दिएकी छिन् ।

प्रत्येक वर्ष तीन दिनसम्म मनाउने तोरन ल्ह पर्वको अवसरमा थकाली समाज बेनी क्षेत्रको आयोजनामा तारा खेल (आर्चरी) सुरु भएको छ ।

यस अवसरमा थकालीहरु चार दिनसम्म चाड मनाउँदै आफ्ना कुलदेवता र पितृको पूजा गर्ने तिर हान्ने, पारा खेल्ने र मिठा परिकारहरु पकाएर खाने र सामुहिक कार्यक्रमहरुको आयोजना गर्ने पनि गौचनको भनाई छ । गुरुङहरुमा ठाडोभाका जस्तै थकालीहरुमा यानिमायाभाका ज्यादै लोकप्रिय रहेको छ ।

थाकखोलाको कोबाङ, खन्ति र नाउरिकोटमा थाक सातसयका थकालीहरुको अस्थु विसर्जन गर्ने परम्परा रहि आएको छ । कोबाङ माथिको डाँडामा अवस्थित नरसाङ गुम्बामा स्थापना गरिएको ङरिझोबालाई थकालीहरु धनधान्यकी देवी महालक्ष्मी मान्दछन् तर वास्तवमा थकाली भाषामा ङरिझोबा कहलाउने यी देवता महालक्ष्मी नभएर बौद्धमार्गी लोकेश्वर भएको डा जगमान गुरुङको भनाई छ ।

उनको अनुसार अहिले थकालीहरु आफ्नो मूल थलो थाकखोलाका अतिरिक्त स्वदेश र विदेशमा रहेर आर्थिक समुन्नतिमा लागेका छन्। अघि नेपाल र भोटको नूनको व्यापारमा थकालीहरुको ठूलो भूमिका थियो । कालान्तरमा थकालीहरुले मारवाडीसंग व्यापार र सामाजिक उत्थानको विधि व्यवहार सिकेर धेरै उन्नति र प्रगति गरे। देश, काल र वातावरण अनुसार आफ्नो संस्कारजन्य कर्ममा पनि थकालीहरुले धेरै सुधार ल्याएका छन्।



प्रतिक्रिया दिनुहोस्