सिन्धुपाल्चोक, चैत ४ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्याउने दाबी गरे ।
जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिए ।
मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताए । ‘काम निकै दु्रतरूपमा भइरहेको पाएँ, यो गति हेर्दा चैतको तेस्रो साता पानी काठमाडौं पुग्छ ।’ ठेकेदार कम्पनीले काम शरू गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उनले बताए ।
केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति संकेत गर्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताए । स्थानीय प्रभावितले गरेको आन्दोलनप्रति चासो राख्दै उनले क्रमशः मागहरू पूरा गरिने बताए ।
‘स्थानीय बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक छन्,’ उनले भने, ‘यो राष्ट्रिय महत्त्वको योजना हो, मागहरू विस्तारै पूरा हुनेछन् । तर यो वा त्यो बहानामा आयोजनाको काम बन्द नगर्न अनुरोध गर्दछु ।’
मन्त्री चौधरीलाई मुहानको अवस्थाबारे जानकारी गराउँदै मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए ।
सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्ममा पानी काठमाडौं झार्नेगरी काम भइरहेको जानकारी उनले दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको उनले बताए । आर्थिक अभियान दैनिकबाट