काठमाडौं, ४ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेपाल चीनको चेपुवामा पर्नै नसक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “एमसीसीमा चीनले किन चिन्ता लिने ? एमसीसी नलेऊ भन्ने कुनै देशको चेतावनीबाट नेपाल डराउँदैन । चीनले एमसीसी नलेऊ भन्ने के हामी स्वशासित हौं त ? नेपाल कसैको उपनिवेश होइन, स्वतन्त्र मुलुक हो । हामी स्वभिमानी छौं । हामी कुनै देशको पक्ष वा विपक्षमा छैनौं । हामी भारतको चेपुवामा त पर्दैनौं भने चीनको चेपुवामा पर्ने सम्भावनै छैन ।”
कसैको उक्साहटमा भीम रावलहरुले एमसीसीका विरुद्धमा नेपाली जनतामा भ्रम फिजाएको आरोप पनि कांग्रेस सहमहामन्त्री यादवले लगाए । उनले थपे, “एमसीसी विशुद्ध आर्थिक विकास अनुदान हो भन्ने भन्ने नेपाली कांग्रेस स्पष्ट छ । हिजो कसैको उक्साहटमा भीम रावलहरुले एमसीसी पास गरे पशुपतिको भट्ट पनि अमेरिकाबाट आउँछ भनेको होइन ? यतिका दिनसम्म आएन । बिजुलीको तारभित्रबाट अमेरिकी सेना आउँछ भन्यो, त्यो पनि आएन । एमसीसी विरोधीलाई लाज लाग्छ कि लाग्दैन ?”
कांग्रेस सहमहामन्त्री यादवले चिनियाँ ऋण बीआरआईबारे भने सोच्नुपर्ने अवस्था आएको औंल्याए । उनले भने, “बीरआईको ऋणले आज श्रीलंका पेट्रोल किन्न नसक्ने हालतमा छ । बीआरआईको ब्याजको बोझ बोकेर के अब हामीले नेपाललाई श्रीलंका बनाउने हो ? पोखरा एयरपोर्ट बनाउँदा भैरहवा एयरपोर्टभन्दा एक्जिम बैंकको १२ अर्बभन्दा बढी लागेको छ । अब हामी यस्तो ऋण लिँदैनौं । भारतसँग ऋण पनि लिँदैनौं, चीनसँग पनि लिँदैनौं । अमेरिकाले हामीलाई अनुदानमा ६० अर्ब रुपियाँ दिएको छ, के चीनले ५० अर्ब फ्रीमा दिन्छ ? बेइजिङबाट काठमाडौंसम्म रेल फ्रीमा ल्याइदिन्छ भने हामी तयार छौं ।”