काठमाडौं, ४ चैत्र । नेकपा (एमाले)का नेता तथा स्थायी कमिटी सदस्य प्रभु शाहको नाम गाडी दुर्घटनामा जोडेर बदनाम गराउन खोजिएको भन्दै रौतहट एमालेले आपत्ति जनाएको छ ।
जिल्ला अध्यक्ष त्रिभुवन साह ‘अमर’ ले आज एक विज्ञप्ती जारी गर्दै सिंगो एमाले र शाहको बदनाम गर्न स्थानीय प्रशासनको दुरुपयोग गरेको भन्दै उचित छानबिन नभए संघर्षसहित जिल्ला अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका हुन् ।
दुर्घटनाका चालक समातिँदा समेत दोषी चालकलाई छाडेर प्रभु साहको नाम जोडेर अनगर्ल प्रचार गरेको अध्यक्ष साहको भनाई छ ।
‘चालक घटनास्थलबाटैं तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदा समेत कांग्रेस गठबन्धनको इशारामा जिप्रका र जि. प्रहरी कार्यालयको प्रमुखसमेत संलग्न रही यसरी लठैत शैलीमा हाम्रा पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री क. प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भइ गरिएको षड्यन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।