काठमाडौं, ४ चैत्र । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा उत्पादन हुने वस्तुहरू आयात नगर्न आग्रह गरेकी छिन् । उनले नाफा हुन्छ भन्दैमा प्लास्टिकका फूलहरू आयात गर्ने काम नगर्न व्यवसायीहरुसमक्ष आग्रह गरेकी छिन् ।
आज (शुक्रबार) बाट काठमाडौंमा सुरु भएको नेपाल हस्तकला महासंघको ४१औँ वार्षिक साधारणसभामा बोल्दै उनले व्यवसायीहरुलाई यस्तो आग्रह गरेकी हुन् । सम्बोधनको क्रममा उनले भनिन्,‘नाफा हुन्छ भनेर जे पनि व्यवसाय नगरौँ भनेर म विशेष ढंगले आग्रह गर्न चाहन्छु। हामी धेरै कुरा गर्छौँ। धेरै कुरा माग्छौँ । तर कमसेकम व्यवसाय पनि त्यस्तो गरौँ, जसले राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउँछ। हाम्रो देशभित्र हुने कुराचाहिँ आयात नगरौँ ।’
उक्त अवसरमा न्यु गजमेर सुनचाँदी पसल, उर्लाबारी–झापाका सञ्चालक खगेन्द्र गजमेरलाई उत्कृष्ट निकासीकर्ताको रुपमा सम्मान गरिएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम