काठमाडौं, चैत ५ । संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्न बनेको संवैधानिक इजलास गठनको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै प्रश्न उठेको छ । संवैधानिक नियुक्ति सुनुवाइ गर्न बसेको इजलासमा शुक्रबार सो इजलास गठन प्रश्न उठेको हो ।
पूर्वमहान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश हरि फुँयालको आदेशको टुंगो नलागी कसरी संवैधानिक इजलास गठन भयो? भनेर प्रश्न गरेका थिए । फुयाँलले यस अघि संवैधानिक इजलासमा प्रधानन्यायाधीश नै हुनुपर्ने र प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुनै नसक्ने आदेश गरेका थिए ।
यससम्बन्धी अन्योल अझै कायम नै छ । अधिवक्ता सुरेन्द्र भण्डारीले पनि सोही प्रश्न दोहो¥याएका थिए । जवाफमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले यस सम्बन्धमा आफूले आदेश गरिसकेको बताए ।
कार्कीले यससम्बन्धमा आगामी बुधबार थप सुनुवाइ हुने जानकारी इजलासमा गराएका थिए । नियुक्ति खारेजीको माग गर्ने रिट निवेदकलाई बहसका लागि बुधबार एक घण्टाको समय छुट्याइएको छ ।
त्यसैगरी, गणेश रेग्मीको रिटका सन्दर्भमा भने रिट निवेदक र विपक्षीले आधा–आधा घण्टा समय पाउनेछन् । कसरी सुनुवाइ अगाडि बढाउने, अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयको टुंगो सम्भवतः बुधबार नै लाग्नेछ । राजधानी दैनिकबाट