Logo

नेताहरुलाई टिकट माग्नेको हैरानी



काठमाडौं, ५ चैत्र । प्रमुख राजनीतिक दलका शिर्ष नेता देखि केन्द्रीय नेताहरुलाई कार्यकर्ताले चुनावको टिकट मागेर हैरान पार्न थालेका छन् । स्थानीय निकायको निर्वाचन नजिकिदै गर्दा आकांक्षीहरुले हैरान पार्न थालेका हुन् ।

नेताहरुको घरमा कार्यकर्ताको भीड लाग्न थालेको छ । उनीहरुको फोन पनि निकै व्यस्त हुन थालेको छ । त्यस्ता भीड र फोन टिकटका आकांक्षीहरुको बढी हुने गरेको छ ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुको निवासमा भीड भड्न थालेको हो । ती दलहरुका प्रभावशाली नेताहरुको घरमा पनि भीड बढ्न थालेको छ ।
काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. सशांक कोइराला, डा. शेखर कोइराला, सुजाता कोइरालाको निवासमा पनि भीड बढ्न थालेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतकोमा पनि कार्यकर्ताको भीड बढेको बुझिएको छ । माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जर्नादन शर्मा, पम्फा भुसाल, मातृका यादवलगायतकोमा पनि धेरै टिकटका आकांक्षी पुग्न थालेका छन् ।

टिकटका आकांक्षी प्रमुख दलहरुमै धेरै देखिएका छन् । तर, सत्ता गठबन्धनबीच तालमेलको चर्चाले काँग्रेस, माओवादी, नेकपा एस र जसपाका कार्यकर्ताको दौडधूप झन् बढेको छ । गठबन्धनबीच तालमेल भएमा टिकटको लागि प्रतिष्पर्धा चर्को हुनसक्छ । यसकारण पनि आकांक्षीहरु माहोल बनाउन बढी सक्रिय भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्