Logo

युद्धले यूरोपबाट एशियातर्फ शक्ति सर्दै



समाचार विश्लेषण । युद्धले धनजनको क्षति पुग्छ । ध्वंसात्मक घटनाले दुरगामी असर गर्छ र मानिसहरुमा लामो समयसम्म मनोवैज्ञानिक असरहरु पार्छ । तर, युद्धले अवसरहरु पनि सृजना गर्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुस-युक्रेन युद्धले गहुँलगायत अन्नको मूल्य व्यापक वृद्धि हुनथालेपछि किसानहरुलाई अवसर छोप्न आग्रह नै गरे । उनले बढीभन्दा बढी अन्न उत्पादन गर्न आग्रह गरेका थिए । तेलको मूल्य विश्व बजारमा निकै आकाशिदा भारतले रुससँग भारी छूटमा कच्चा तेल किन्यो ।

रुसमाथि अमेरिका र बेलायतले प्रतिबन्ध लगाएपछि अन्य बजार हेरेको उसले सस्तो मूल्यमा भारतलाई तेल बेच्यो । चीनलाई पनि भारी मात्रामा कच्चा तेल बेचिरहेको छ । डलरको साटो चिनियाँ मुद्रा युआनमा तेल बेच्न थाल्यो ।
रुसबाट यूरोप र अमेरिकाका कम्पनीहरु धमाधम बाहिरिन थाले । त्यसको रिक्ततामा चीन पस्न थालिसकेको छ । रुसका मिडियाले चिनियाँ कम्पनी प्रवेश गर्न थालेको विषय उठाउन थालेका छन् । रुसमा डलरको साटो युआन चलाउन थालिएको छ । यसले चीनको आफ्नो मुद्रा विश्वव्यापी बनाई बलियो बनाउने महत्वाकांक्षामा बल पुगेको छ ।

रुस र युक्रेन युद्धले यी दुवै देशले ठूलो क्षति भोगिरहेका छन् । पूर्वी यूरोपमा विद्यमान शरणार्थीको संकटको असर पश्चिम यूरोपसम्म फैलिइरहेको छ । यूरोपमा ग्याँसको मूल्यमा व्यापक वृद्धि भइरहेको छ । युरोपेली युनीयनले रुसी ग्याँसमा प्रतिबन्ध लगाएको छैन । बेलायतले भने प्रतिबन्ध लगाएको छ । तर, उसले यसबाट ठूलो मूल्य चुकाइरहेको छ । महङ्गो मूल्यमा ग्याँस आपूर्ति गरिरहेको छ ।

बेलायतको रुसमाथिको प्रतिबन्धको असर रुसी व्यापारीहरुलाई परेको छ । रोमान इब्रानोभिचले चेल्सी विक्री गर्न खोजे । तर, उनको सम्पत्ति रोक्का भएको छ । यूरोपमा लगानी गरिरहेका रुसी अर्बपतिहरु विस्तारै अन्य क्षेत्रमा सर्ने अवस्था विकास भएको छ । उनीहरुको ध्यान एशिया या अफ्रिकामा हुनसक्छ जहाँ रुसी व्यापार सुरक्षित हुनसक्छ । चीन र भारतमा रुसी व्यापारीहरु लगानीका लागि बढ्न सक्छन् ।

युद्धको सबैभन्दा ठूलो असर यूरोपले भोगिरहेको छ । त्यहाँको पर्यटन बजारमा असर परेको छ ।

यूरोपमा महङ्गीसँगै बेरोजगारीको समस्या बढ्न थालेको छ । आर्थिक संकटहरु देखिन थालेको छ ।

चीनले रुस-युक्रेन युद्धको फाइदा लिन खोजेको आरोपहरु पनि लागिरहेको छ । भारतले पनि युद्धबाट फाइदा लिन खोजेको घटनाहरु देखिएका छन् । यी दुवै देश युद्धमा तटस्थ भूमिकामा छन् । उनीहरु अमेरिका र रुस दुवै देशलाई चिढ्याउन चाहँदैनन् ।

रुस र युक्रेन युद्धमा प्रत्यक्ष देखिएपनि अमेरिका पनि यो युद्धमा अप्रत्यक्ष सामेल छ । यसकारण रुस र अमेरिकाका अलावा यूरोपका देशहरुले युद्धमा धेरै गुमाइरहेको बुझ्न सकिन्छ । यही मौकामा चीनले एशियामा प्रभाव बढाउन थालेको छ । उसले शक्ति बढाउँदै लगेको छ । भारत पनि शक्ति वृद्धिमा लागिसकेको छ ।

आर्थिक एवं सैन्य मामलामा विस्तारै शक्ति पश्चिमबाट पूर्वमा अर्थात यूरोपबाट एशियातर्फ सर्न थालेको छ । यो युद्धले शक्ति एशियातर्फ सर्ने वातावरण विकास गरिरहेको छ ।

पहिलो विश्वयुद्धले यूरोपलाई ठूलो क्षति दियो । बेलायतको ठाउँमा अमेरिका महाशक्तिका रुपमा उदायो । दोस्रो विश्वयुद्धमा बेलायत र जर्मनीबीच मुख्य लडाईं भयो । विश्वयुद्धपछि बेलायतको विश्वभर रहेको उपनिवेश अन्त हुन थाल्यो । अमेरिकासँगै सोभियत संघ महाशक्तिका रुपमा उदाए । रुस र युक्रेनबीचको युद्ध यसरी नै अगाडि बढेमा सँसारको शक्ति सन्तुलनमा कायापलट हुनसक्छ । यूरोपबाट यसै पनि एशियातर्फ शक्ति बढिरहेको छ । यसको लाभ एशियाका चीन, भारत, जापान जस्ता देशहरुले लिन सक्छन् ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot