Logo

कम्युनिस्टहरू कमजोर हुँदा मिलेर जानुपर्छ भन्छन्, बलियो हुँदा कांग्रेसलाई नै जाइलाग्छन्ः मोहन बस्नेत



काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी एक्लै लडेर जित्ने हालतमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “घर-घर जाऊँ, हामी चैत ११ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस जिताऊँ अभियानको पहिलो चरणको समीक्षा गर्दैछौं । अहिलेसम्मको स्थितिमा राम्रो रेस्पोन्स देखिएको छ । नेपाली कांग्रेस एक्लै लडेर जित्ने तयारीमा लागेको छ ।”
गठबन्धनका नाममा कम्युनिस्टहरुले आफ्नो स्वार्थपूर्ति मात्र गर्ने भएकाले त्यसमा कांग्रेस सशंकित भएको पनि उनले बताए । बस्नेतले थपे, “गठबन्धनका बारेमा नेतृत्वपंक्तिमा छलफल भइरहेको छ । तर परिणाम के हुन्छ, म भन्न सक्दिन । तर जोसँग मिलेर भए पनि कम्युनिस्टहरुले आफ्नो स्वार्थपूर्ति गर्ने हो । कम्युनिस्टहरु कमजोर हुँदा मिलेर जानुपर्छ भन्छन्, बलियो हुँदा कांग्रेसलाई नै जाइलाग्छन् ।”
जनताले कांग्रेस एक्लै लडेको हेर्न चाहेको पनि उनले बताए । बस्नेतले भने, “अहिले कांग्रेसहरु गाउँगाउँमा खटिएका छन् । कांग्रेस सुध्रियोस् भन्ने आम जनचाहना छ किनभने लोकतन्त्रको विकल्प लोकतन्त्र हो, कांग्रेसको विकल्प पनि कांग्रेस नै हो । बिपद्मा कांग्रेस उभिन्छ, समस्यामा कांग्रेस उभिन्छ । एमसीसीपछि नेपाली कांग्रेसमा एकढिक्का भएको छ । कांग्रेसमा एकअर्कालाई सहयोग नगर्ने स्थिति हुँदा या पार्टी एकताबद्ध नहुँदा लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर हुँदा देश कमजोर हुने तथ्यलाई मनन गरेर हामी अगाडि बढ्छौं ।”
कांग्रेस नेता बस्नेतले युद्धको परिस्थितिका कारण महँगी बढ्दा जनतालाई अन्याय भएकाले कालो बजारी रोक्न सरकारले ध्यान दिनुपर्ने औंल्याए । उनले भने, “कांग्रेसको नेतृत्वमा संविधान लिकमा ल्याइएको छ । ७० प्रतिशत जनताले कोरोनाको खोप लगाएका छन् । गठबन्धन सरकार भएकाले भूकम्पपीडितलाई १ लाख थप्ने, ६५ वर्षदेखि वृद्धभत्ता बाँड्ने काम हुन सकेको छैन । जनताले देखिने गरी काम गर्न कांग्रेसको बहुमतको सरकार आउनुपर्छ ।”
अर्को प्रसंगमा बस्नेतले आफू निर्वाचित भएको तीन महिनाभित्र तातोपानी नाका खोल्छु भन्ने सभामुख अग्नि सापकोटाले किन खोल्न नसकेको भनी प्रश्न गरे । उनले भने, “चीनसँग राम्रो सम्बन्ध छ भन्ने सभामुख अग्निप्रसाद सापकोटाले साढे चार वर्षसम्म के काम गर्नुभयो ? अत्तोपत्तो छैन । चुनाव जितेको ३ महिनाभित्र नाका खोल्छु भन्नुभएको थियो । बरु मैले सामान्य कार्यकर्ताको हैसियतमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको च्यानल प्रयोग गरी महामहिम चिनियाँ राजदूतमार्फत भारतबाट आउनुपर्ने १ लाख ४० मेट्रिक टन मल नआएपछि चीनबाट केही मल भित्र्याउने काम गरें । नाकामा कन्टेनर थप्ने काम गरें । यो विषयमा मबाहेक कसैले पहल गरेन । अब चिनियाँ विदेशमन्त्री आउँदाखेरि सरकारले कूटनीतिक ढंगले पहल गर्नुपर्छ । यो विषयमा म कांग्रेस केन्द्रीय समिति बैठकमा पनि यो कुरा राख्छु ।”
अमेरिकाले जस्तै चीनले बीरआरआईमार्फत दिन्छ भने अनुदान लिनुपर्ने नेता बस्नेतले बताए । उनले भने, “कांग्रेसको नेतृत्वमा एमसीसी पारित भयो । चीनले पनि बीआरआईमार्फत अनुदान दिन सक्छ । चीनजस्तो देशले अनुदानका रुपमा दियो भने धेरै राम्रो हुन्छ । अमेरिकाले अनुदान बढाइरहेको छ भने चीनले पनि बढाउला भन्नेमा म आशावादी छु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot