काठमाडौं, ५ चैत । बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदीले आफ्नो कार्यकालमा वाचा गरेका ९० प्रतिशत काम सम्पन्न भएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर सुवेदीले भने, “५ वर्षे कार्यकालमा स्थानीय तहको एकल अधिकारका ९० वटा कानुन बनायौं । १५ वर्षे गुरुयोजना, ५ वर्षे आवधिक योजना बनायौं । शिक्षा योजनाका कारण ७५३ पालिकामध्ये बुटवल प्रथम भएको छ । कोरोना न्यूनीकरण गर्यौं भने प्राथमिक स्वास्थ्य चौकीको प्रमोसन गरेर गर्यौं । हामीले वाचा कबुल गरेका ९० प्रतिशत काम सम्पन्न गरेका छौं । बहुउद्देश्यीय खुलामञ्चजस्ता अतिरिक्त काम पनि भएका छन् ।”
५ वर्षे कार्यकालमा बुटवल स्मार्ट सिटी हुँदै गएको पनि सुवेदी स्पष्ट पारे । उनले थपे, “सहरी विकासको मुख्य आधार पूर्वाधार नै हो । यसमा हामीले सडकदेखि पर्यटन प्रवद्र्धनसम्म गरेका छौं । भूकम्पले हाम्रो प्रशासनिक सेवा कार्यालय नै खत्तम पारेको थियो । हामीले कति सडक चौडा पार्यौं भन्ने कुरा गुगलबाट जुम गरेर हेर्न सकिन्छ । शिक्षालय र शैक्षिक सामग्रीमा पनि धेरै प्रगति भएको छ । ११ वटा वडामा डिभाइसबाट घरठेगानामा पुग्न सकिन्छ । अनलाइन पेमेन्ट गर्न सकिन्छ । नागरिक स्मार्ट हुँदै जाँदा नगर पनि स्मार्ट हुँदै जान्छ ।”
रोजगारी र व्यावसायिक सूचकांकमा पनि उपमहानगरपालिका अवार्ड पाउन सफल भएको उनले बताए । मेयर सुवेदीले भने, “मेयर इलम कार्यक्रम, उपमेयर रोजगार डेस्क स्थापना गरेका छौं । १८ वर्षदेखि ४५ वर्षसम्मका नारनारी बीटीआई वा अन्य तालिम केन्द्र प्रयोग गरेर प्रशिक्षित गर्न सफल भएका छौं । अबको १० वर्षमा बुटवलले समृद्ध लक्ष्य सजिलै हासिल गर्न सक्छ । केपी ओली प्रधानमन्त्री, शंकर पोखरेल मुख्यमन्त्री र म मेयर भएका बेला थुप्रै काम गर्न सफल भयौं ।”
उनले पार्टीले जिम्मेवारी दिएको खण्डमा फेरि पनि मेयर हुन तयार रहेको बताए । उनले भने, “बुटवल प्रवद्र्धित र आमा सहर हो । यसले सैनामैना, तिलोत्तमा जस्ता सहर जन्मायो । सहरी विकास विज्ञको भनाइमा यो लाइभ सिटी हो । यो योजनाबद्ध बनेको होइन, बन्दै गएको हो । त्यसैले पुनःनिर्माण काम भइरहेको छ । निर्माणको चरणमा धुँवा धुलो हुनु स्वाभाविक हो । अरु कुरा राम्रो छ । म १५ वर्षको उमेरदेखि समाजसेवामा लागेको हुँ । पार्टीले जिम्मेवारी दिने र जनताले ठीक छ भने म जुनसुकै भूमिका लिन तयार छु ।”