चैत ५, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले ल्याएको परिवर्तन उल्ट्याउन प्रतिगामी तत्वहरु सक्रिय भएको आरोप लगाएका छन् । केपी ओलीले परिवर्तन उल्ट्यान ठूलो कसरत गरेको दाहालको जिकिर छ । मुलुकलाई अध्यारो सुरुङभित्र लैजाने ओलीको प्रयासलाई आफूहरुले विफल बनाएको दाहालको भनाई छ । सिन्धुलीमा आयोजित पार्टीको एक कार्यक्रममा दाहालले बाम गठबन्धन जोगाउन कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि अस्वीकार गरेर ओलीलाई प्रधानमन्त्री बनाएको तर धोका पाएको बताए । अझै पनि प्रतिक्रियावादी र अवसरवादीबाट मुलुकलाई जोगाउनुपर्ने जिम्मेवारी रहेको दाहालले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीको कमी कमजोरीबारे बोलिरहेका छन् । ओली र शेरबहादुर देउवा मिलेर एमसीसी जस्ताकोत्यस्तै पारित गर्न खोजेपछि आफूहरुले व्याख्यात्मक घोषणामार्फत देशको पक्षमा पारित गरेको नेपालको दाबी छ । गोरखामा आयोजित नेकपा एसको कार्यक्रममा अध्यक्ष नेपालले ओलीको पालामा नेपाललाई इण्डो प्यासिफिक सैन्य गठबन्धनको अंग बन्ने भनेर लेखिएकोमा आफूहरुले त्यसलाई सच्याएको जिकिर गरे । नेपालले आउने चुनावमा एमालेलाई धुलो चटाइने दावी समेत गरे । नेपालको भनाईलाई पत्याउने हो भने एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागिसकेको छ ।
नेपालले एमाले र माओवादी केन्द्र एकता भई २०७५ मा गठन भएको नेकपाको निरन्तरता आफ्नो पार्टीले गरिरहेको बताएका छन् । सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । शनिबार पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले संसद विघटन गरेर संविधानको उल्लंघन गर्ने केपी ओलीलाई जनताले सजायँ दिनपर्ने बताएका हुन् । खनालले संविधान उल्लंघन गर्ने व्यक्तिलाई जेल सजाय दिनुपर्नेमा ओलीलाई अहिलेसम्म सजाय नमिलेको भन्दै आक्रोष व्यक्त गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले संविधानको प्रावधानविरुद्ध गएर संसद विघटन गर्ने योजना बनाउने काममा ओलीलाई सहयोग गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् ।