Logo

‘नेपाल हिन्दुराष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहनेछ’



काठमाडौं, ५ चैत्र । हिन्दुराष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।

प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र विशिष्ठ अतिथि पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व मेजर जनरल नरबहादुर कँडेल सहित को आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना द्वारा राखिएको थियो भने साहित्य परिचय अभियानका सदस्य देवेश झाले गराएका थिए । कार्यक्रम संयोजन वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गरेका थिए ।

स्वागत मन्तव्य दिदै तिमल्सिनाले घर घरमा जागरण अभियान चलाउनुपर्ने बताए । धर्म परिवर्तनलाई रोक्नुपर्ने कुरालाई जोड दिदै उनले अभियान कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई समग्र हिन्दूहरूको धर्म संरक्षणका लागि सञ्चालन गरिएको बताए ।

साहित्य परिचय गराउने क्रममा अभियानका सदस्य देवेश झद्वारा गत साउन महिनादेखि सञ्चालित उक्त अभियानबाट फोल्डर, स्टिकर र पुस्तिका मार्फत उद्देश्य र स्वाभिमान जागरण बारे तथ्यगत विश्लेषण प्रस्तुत गरिएको बताइयो ।

आफ्नो स्वास्थ्य जटिलताका कारण स्वयं उपस्थित हुन नसकेको अभियानका राष्ट्रिय संयोजक तथा पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालको सन्देश पढेर सुनाइएको थियो । सबै हिन्दु धर्मावलम्बीहरूलाई एकजुट भएर अगाडि बढ्न आह्वान गर्दै संयोजक कटुवालले सन्देशमार्फत हिन्दुराष्ट्रको माग सम्पूर्ण नेपालको स्वाभिमानसंग जोडिएको विचार व्यक्त गरेका थिए ।

यसैगरी पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेलले धर्मविहिन राष्ट्र हुन सक्दैन भन्ने बताउदै प्राचिनकालदेखि नै नेपाल एक वैदिक सनातन हिन्दुराष्ट्र रहँदै आएको र युगयुगसम्म रहने दावी गर्दै धर्म, संस्कृति र परम्परा प्रथा विनाश हुन लाग्यो भने पुरानै अबस्थामा ल्याउन सबै हिन्दुहरूले आ(आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने मा जोड दिएका थिए ।

नेपाली सेनाका अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेलले नेपाल हिन्दुराष्ट्रको रुपमा रहँदा संसारभरका हिन्दूहरूको तिर्थस्थल रहने बताए ।

कार्यक्रम का प्रमुख अतिथि तथा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले नेपाल हिन्दु राष्ट्र भएको र मानव समाज रहेसम्म रहिरहने बताउनु हुदै आफ्नो अस्तित्व जोगाउन कालागि पनि यस अभियानमा जोडिनुपर्छ भने । राजनीतिक नेतृत्वको आलोचना गर्दै पराजुलीले नेताहरुले अनुचित लोभका कारण धर्मनिरपेक्षतालाई जबर्जस्ती अंगालेको आरोप लगाए ।

समापन मन्तव्य दिदै कार्यक्रम संयोजक तथा वास्तुविद् वासुदेवकृष्ण शास्त्रीले अभियानलाई ६६ जिल्लासम्म पुर्याइएको चर्चा गर्दै वैदिक सनातन अखण्ड हिन्दुराष्ट्र नेपालमा शासन पद्धती जुनसुकै भएपनि हिन्दुराष्ट्र कायम हुनुपर्ने उल्लेख गरे ।

अभियानका सदस्य प्रह्लाद रेग्मीद्वारा सञ्चालित उक्त कार्यक्रममा सामूहिक साहित्य विमोचन र ऋतु लामाद्वारा एकल गायन प्रस्तुत गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्