Logo

३० परियोजनाका लागि १० खर्ब रुपैयाँ लगानी स्वीकृत



काठमाडौं, चैत ६ । ठूला परियोजनाहरूमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ ।

लगानी बोर्डका प्रवक्ता भगवान अर्यालका अनुसार जलविद्युत्, सिमेन्ट, उत्पादनमूलक उद्योग, गाडी उत्पादन, औद्योगिक पार्क, सडक, लजिस्टिकलगायतका परियोजनाका लागि सो रकम बराबरको लगानी स्वीकृत गरेको हो ।

हालको व्यवस्थाअनुसार ६ अर्ब रुपैयाँभन्दा बढी लगानी भएका आयोजनाको लगानी बोर्डको क्षेत्राधिकारमा पर्छ । ठूला परियोजनामा पुँजी जुटाउन पहल गर्दै आएको लगानी बोर्डले अहिलेसम्म साढे दुई दर्जन परियोजनाका लागि १० खर्ब रुपैयाँ लगानी स्वीकृत गरिसके पनि एक दर्जन आयोजना पाइपलाइनमा छन् ।

बोर्डले माथिल्लो तमोर आयोजनाका लागि ६३ अर्ब ७२ करोड रुपैयाँ, मनाङ मस्र्याङ्दी आयोजनाका लागि ३३ अर्ब ४१ करोड रुपैयाँ, जुमखोला आयोजनालाई १० अर्ब ५३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । यसैगरी, अरुण तेस्रो आयोजनाको पुँजी वृद्धिका लागि ६२ अर्ब २६ करोड रुपैयाँ र डाबर नेपालको क्षमता विस्तारका लागि ९ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

अरुण तेस्रोमा १ खर्ब ४४ अर्ब रुपैयाँ, माथिल्लो त्रिशूली–१ मा ७३ अर्ब १५ करोड, माथिल्लो कर्णालीमा १ खर्ब १५ अर्ब, माथिल्लो मस्र्याङ्दी–२ मा ७८ अर्ब ३० करोड, होङ्सी सिमेन्टमा ३७ अर्ब ३५ करोड रुपैयाँ, धरानस्थित फोहोरबाट ऊर्जा उत्पादन गर्ने आयोजनाका लागि २४ करोड, हुवासिन सिमेन्टका लागि १४ अर्ब ८४ करोड रुपैयाँ लगानी स्वीकृत गरेको बोर्डले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot