Logo

गठबन्धन केन्द्रबाट लादेर होइन, स्वतःस्फूर्त हुनुपर्छः बद्री पाण्डे



काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले स्थानीय तहमा गठबन्धन केन्द्रबाट लादेर होइन, तलबाट स्वतःस्फूर्त रुपमा हुुनुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाण्डेले भने, “अहिलेको स्थितिमा एक्लै सरकार चलाउन सक्दैनथ्यो, त्यसकारण गठबन्धन भयो । आगामी निर्वाचनमा गठबन्धनका दलहरुले मिलेर जाऊँ भनिरहेका छन् । मिलेर जाऊँ भन्नु त नेपाली कांग्रेसको क्यारेक्टर नै हो । किनभने नेपाली कांग्रेसको मेलमिलापको झन्डा बोकेर हिँडेको छवि छ । तर सैद्धान्तिक कुरा गरेर मात्र भएन । व्यावहारिक समस्या हुन्छ । पार्टीभित्रै व्यवस्थापनमा कठिनाइ भएका बेला अरुलाई समेट्न सकिँदैन । गठबन्धन केन्द्रबाट लादेर होइन, तलबाट रियालाइज गरी स्वतःस्फूर्त रुपमा हुुनुपर्छ ।”
विधान अनुसार टिकट बाँड्न तल्ला तह सक्षम रहेको र पार्टीभित्र अब पक्ष र विपक्ष नरहेन उनले स्पष्ट पारे । पाण्डेले थपे, “पार्टीको विधान अनुसार टिकट बाँड्न तल्ला निकाय सक्षम छन् । लोकप्रिय, जिम्मेवार, देश र नागरिकका लागि काम गर्नेलाई उम्मेदवार बनाउँछन् । पार्टीभित्रको पक्ष वा विपक्ष महाधिवेशनसम्मका लागि मात्र हो । महाधिवेशनपछि हामी एकआपसमा एकताबद्ध छौं । अब सिंगो पार्टी एउटा पक्ष हो, अब हामीले अर्को पक्षसँग प्रतिस्पर्धा गछौं ।”
७७ जिल्लाका सबै वडाका टोलमा एक महिने अभियानबाट पार्टीपंक्ति उत्साहित भएको पाण्डेले बताए । उनले थपे, “स्थानीय तहको निर्वाचनका सन्दर्भमा हामीले घरघरजाऊँ, कांग्रेसलाई जिताऊँ अभियान चलायौं । ५० हजार टोल समितिलाई सक्रिय बनाएका छौं । घरदैलोमै जनताको अपेक्षालाई आवश्यक छलफल र मन्थन गरी घोषणापत्रमा समेट्छौं ।”
रुस र युक्रेनको युद्धका कारण सिर्जित महँगी नियन्त्रणका लागि सरकारले तदारुकता देखाउनुपर्ने पनि उनले औंल्याए । नेता पाण्डेले भने, “राजनीति ठूलाठूला पदमा पुग्न होइन, जनताका आवाज मुखरित गर्ने आदर्शको बाटो पनि हो । हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेपछि महाधिवेशन सम्पन्न गर्नुपर्ने, एमसीसी अनुमोदन गर्नुपर्ने आदि चुनौती थिए । अहिले अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाय बढेका कारण देखाउँदै महँगी बढेको छ । त्यसले सबै क्षेत्रलाई प्रभावित बनाएको छ । त्यसो हो भने जनतालाई राहत दिनुपर्छ । कृत्रिम महँगी हो भने सरकारले नियन्त्रण गर्नुपर्छ । तत्काल तदारुकता देखाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्