Logo

माधव नेपाल समूहबाहेकका दलसँग गठबन्धन खुला छः केशव बडाल



काठमाडौं, ६ चैत । नेकपा (एमाले) का नेता केशव बडालले माधवकुमार नेपालको समूहबाहेक सबै दलसँग गठबन्धन गर्न आफ्नो पार्टी खुला रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “स्थानीय तहको निर्वाचनका सन्दर्भमा पार्टीले हस्तक्षेप गर्दैन । मतदाता र कमरेडहरुको भावना हेरेर गर्छौं । स्थानीय तह अनुसार कुन पालिकामा के गर्ने भनेर माथिबाट फाइनल गर्दैनौं । जसले निर्णय गर्ने हो, उसले महसुस गरे गठबन्धन हुने हो । तर माधव नेपाल गु्रुपबाहेक अरुसँग गठबन्धन खुला छ । अहिले सबै वडा र पालिकामा निर्वाचनको युद्धस्तरमा तयारी छ । हामी गठबन्धनमा अलमलिएर बस्दैनौं ।”
माधव नेपाललाई किन छोइछिटो भन्ने प्रश्नमा बडालले थपे, “माधव नेपाल ‘ए हजुर मेरो पार्टीको अध्यक्षलाई सरकारबाट हटाउनुस्’ भनेर ग्वाँग्वाँ रुँदै बुढानीलकण्ठ गएको होइन ? त्यति पतन भइसकेको देशद्रोही मान्छेका लागि समय र श्रम किन खर्च गर्ने ? झलनाथ खनाल केपी ओलीको बाकसमा जिरो मत पर्छ भन्दै हुनुहुन्छ । दिल्लीमा उपचार गर्न जाँदा र फर्कंदा किन यति अन्तर भयो ?”
प्रचण्डले राजाकहाँ अधिकार बुझाउन जनयुद्ध गरेको आरोप पनि बडालले लगाए । उनले भने, “पञ्चायतमा किन जनयुद्धमा जानु भएन । उहाँ कम्युनिस्टले एकल सरकार चलाउँदा चलाउँदै युद्धमा जानुभयो । हाम्रा ५ सय कमरेडहरु मारिनुभयो । उहाँले किन जनयुद्ध गर्नुभएको रहेछ भन्ने त देखियो नि ।”
चिनियाँ विदेश मन्त्री वाङको भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बन्ने विश्वास उनले व्यक्त गरे । उनले भने, “चीनसँग हाम्रो १४०८ किलोमिटर भूभाग जोडिएको छ । विश्व शान्ति र समृद्धिका लागि चिनियाँ भूमिका छ । त्यसैले समृद्ध नेपाल सुखी नेपाली बनाउन रक्सौलबाट काठमाडौं र उत्तरबाट काठमाडौं रेलवे जोडिनु आवश्यक छ । तर हामीसँग ऋण लिएर रेलवे बनाउने हैसियत छैन । त्यसैले चीनले उत्तरबाट काठमाडौं जोडिने रेलवेका लागि अनुदान दिनुपर्छ । हाम्रो विकास चीनको पनि विकास हो ।”



प्रतिक्रिया दिनुहोस्