काठमाडौं, चैत ६ । बुटवल–नारायणगढ सडक निर्माण र विस्तारको काम गत माघ १९ गतेसम्म ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सकिसक्नु पर्नेमा सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्सट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १२ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ ।
नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दृष्टिले लक्ष्यभन्दा ७८ दशमलब २२ प्रतिशत कम काम भएको बताए । कम्पनीले काम गर्न ढिलाइ गरेको भन्दै आलोचना भइरहेको बेला उनले धेरै कारण देखाउँदै काम ढिलो भएको स्वीकार गरे ।
कम्पनीले निर्माण व्यवसायीबाट निर्माण शुरु गर्नु नै ढिला भएको, रुख कटान गर्नु पर्ने संख्या बढेको र कटान आदेश ढिलो गरी प्राप्त भएको तथा कोभिडको महामारीले काम गर्न समस्या भएको र विद्युत लाइन सार्न समस्या भएका कारणले काम ढिलो भएका कारणहरु आयोजनाले मन्त्रालयलाई जानकारी गराएको छ ।
सडक विस्तार ढिलो हुँदा एक देखि सवा एक घण्टामा पार गर्न सकिने नवलपुर सडक खण्ड पार गर्न अहिले चार घण्टा बढी लाग्ने गरेको छ । जसले गर्दा यात्रुहरुलाई निक्कै सास्ती खेप्नुु परेको छ । त्यसैगरी ठाउँ–ठाउँमा जीर्ण भएका सडकहरु मर्मत नहुँदा धुलोको प्रदुषणले यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
६४ दशमलब ४२५ किलोमिटर सडक खण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर ६ लेन, ४२.७ किलोमिटर ४ लेन, ४.१ किलोमिटर ३ लेन (दाउन्ने खण्ड), ठूला पुल १२ वटा, साना पुल २२ वटा र कल्भर्ट २१५ वटा निर्माण हुनेछन् ।।