Logo

खरिदार बस्नेतमाथि एक रोपनी जग्गालाई सय रोपनी बनाएर पुर्जा दिएको आरोप



काठमाडौं, ६ चैत्र । चावहिल मालपोत कार्यालयमा लक्ष्मण बस्नेत ८ बर्षदेखि कार्यरत छन् । केही वर्षअघि चावहिलको जग्गामा कित्ता नम्बर ३०० बनाएर जग्गा बिनाको नक्कली जग्गाधनी प्रमाणपत्र बनाएको उनीमाथि आरोप लागेको छ । नापीले गर्नुपर्ने कित्ताकाट गरी जग्गा धनीपुर्जा बनाइएको थियो ।

हाकिमसँग मिलेर भुमाफिया चन्द्र खत्रीले जग्गा नै नभएको ठाउँमा चावहिलको एकजनालाई बेचेर करोडौ रुपैया जम्मा गरेका हुन् ।
चावहिल मालपोतबाट गैरकानुनी रुपमा सरकारी जग्गादेखि छुट जग्गा दर्ता गरी अकूत सम्पत्ति आर्जन गरेका खरिदार बस्नेतलाई केही महिनाअघि बर्दिबास मालपोत कार्यालयमा पदस्थापन गरिएको थियो । तर फेरी उनलाई विभागमै पत्र लुकाई पुनः चावहिलमै पदस्थापन गरिएको छ ।

भूमिब्यवस्थापन विभागका महानिर्देशक कृष्ण ज्ञवाली आफ्नो नाता पर्ने भएकोले पदस्थापन बर्दिबासबाट रद्द गराएको उनले कर्मचारीसँग भन्दै आएका छन् ।

काठमाडौं उपत्यका मालपोत कार्यालयहरू सबै चहार्दै सरकारी जग्गा गैरकानुनी रूपमा दर्ता गर्नेदेखि छुट जग्गा दर्ता र सेवाग्राहीसँग घुस लिएर चावहिलको भत्केको पाटीमा ठुलो क्षेत्रफलमा घर बनाएका हुन् । उनले यसका अलावा काठमाडौका धेरै ठाउँमा जग्गा जोडेका छन् भने, छोराको नाममा चावहिलकै नमस्ते नेपाल सहकारीमा ५ करोड भन्दा बढी लगानी गरेकोे बुझिएको छ । उनको सहकारीमा उनले आफ्नो छोरालाई कर्मचारी नै राखेका छन् । त्यस अतिरिक्त उनको धेरै ठाउँमा जग्गा छ । कानुनविपरीत छुट जग्गा दर्ता गरेको आरोपमा २ बर्षअघि कर्मचारीसहित ५४ जनाविरुद्ध मुद्दा दायर भयो । तर घुस असुली गर्ने मुख्य भूमिका निभाएका खरिदार बस्नेतले भने उन्मुक्ति पाए । छुट जग्गा दर्तामा उनले नै सबै डिल गरेको भएपनि मुद्दा भने अरु कर्मचारीबिरुद्ध मात्र दर्ता गरी अख्तियारले बस्नेतलाई उन्मुक्ति दियो ।

डिल्लीबजार मालपोत कार्यालयका अरबपति खरिदार लक्ष्मण भट्टराई १५ बर्षदेखि रजिष्ट्रेसन फाँटमा भएजस्तै चावहिलमा लक्ष्मण बस्नेतले ९ बर्षदेखि लगातार मुद्दा फाँटमा बसी गैरकानुनी जग्गा दर्ता गरी करोडौं करोड घुस संकलन गर्दैआएका छन् । उनीविरुद्ध अख्तियारमा भ्रष्टाचार गरी आयभन्दा बढी सम्पत्ति आर्जन गरेको उजुरी परेपनि अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेतले उनीबाट ठूलै रकम लाभ लिएर तामेलीमा हालेका थिए ।

बस्नेतानथि धादिङ मालपोतमा हुँदा राजमार्गको छेउ र खोला किनारका सरकारी जग्गा वन समेत गैरकानुनी ब्यक्तिका नाममा दर्ता गरेको आरोप छ । धादिङको राजमार्गछेउमा १ रोपनी जग्गा हुनेलाई पछाडिको जंगलसमेत हालेर २ वटा जीरो थपी १०० रोपनीको पूर्जा दिने काममा पनि बस्नेत संलग्न थिए । जुन जग्गाको एक चरणको छानबिन सकेर मुद्दा दायर भइसकेको छ भने अर्को चरणको छानबिन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्