Logo

ओलीले ‘जनतालाई सपना बाँडेर प्रतिवद्धतालाई लात हानेको’ प्रदीप पौडेलको टिप्पणी



काठमाडौं, ६ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सपना बाँडेको र प्रतिवद्धतालाई लात हानेको टिप्पणी गरेका छन् । उनले ओली नेतृत्वको एमालेले मुलुकलाई समृद्धि दिन नसक्ने भन्दै आगामी चुनावमा जनताले नेपाली काँग्रेसलाई भारी मत दिने दाबी गरे ।

गृहजिल्ला तनहुँको ऋषिङ गाउँकालिका कार्यसमितिले शनिबार वडानम्बर ६ मा पर्ने ढुङ्गाडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ईंगित गर्दै जनतालाई बाँडेका सपना र गरेको प्रतिवद्धतालाई लात हानेको टिप्पणी गरेका हुन् ।
जनता सामु परीक्षण भएर पूर्ण असफल भइसकेको भन्दै ओलीलाई अब शंकाको सुविधा समेत नरहेको तर्क गरे ।

‘जनतालाई सपना बाँडेर सत्तामा पुगेपछि आफैँले बाँडेका सपना र गरेका प्रतिवद्धतालाई लात हान्ने नेतृत्वले देशलाई समृद्धि दिन सक्दैन,’ ओली प्रति आक्रामक ढंगले प्रस्तुत भएका पौडेलले भने, ‘परीक्षणका क्रममा पूर्ण असफल भएकालाई अब शंकाको सुविधा दिने स्थिति पनि छैन।’

एमालेले गत निर्वाचनमा जारी गरेको घोषणा पत्रमा उल्लेख गरेका कुनै पनि योजना कार्यान्वयनमा नै आउन नसकेको पनि बताए। ‘चुनाव अघि आफैँले भनेका योजना सुरुवात भएनन्। घोषणा पत्रमा उल्लेख गरिएका कुनै पनि योजना कार्यान्वयन भएनन्,’ पौडेलले भने, ‘कार्यान्वयनमात्रै होइन, सुरुवात हुने सम्भावना नजिकसम्म पनि पुगेनन्।’

ओली नेतृत्वको सरकारका पालामा मुलुकले केही पनि प्राप्त गर्न नसकेको उनको दाबी थियो। ‘दुईतिहाइ बराबरको जनादेश पाएर पनि ओलीले ५ वर्ष सरकार चलाउन सकेनन्। जति समय चलाए त्यो अवधिमा देशले केही प्राप्त गरेन,’ उनले भने।

जनताले दिएको दुईतिहाइलाई अलपत्र पार्ने नेताले फेरि जनतासँग मत माग्ने काम लोकतन्त्रमा नसुहाउने नेता पौडेलको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot