Logo

माओवादी केन्द्रमा थारुलाई भोट बैंकका रूपमा मात्र प्रयोग भयोः बालेश्वर थारु



काठमाडौं, ७ चैत । नेकपा (माओवादी केन्द्र) का नेता बालेश्वर थारुले पार्टीको केन्द्रीय समिति बनाउँदा थारुहरुलाई नसमेट्नु अन्याय भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थारुले भने, “मधेस प्रदेशमा थारु जनसंख्या आधाआधी छ । तर नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा एक जनाको मात्र प्रतिनिधित्व छ । मधेस प्रदेशको पदाधिकारीमा पनि राखिएको छैन । यो सरासर राजनीतिक बेइमानी हो । भोलि प्रचण्डजी मधेस प्रदेशमा प्रशिक्षणका लागि आउँदै हुनुहुन्छ, हामी आफ्ना कुरा राख्छौं ।”
उनले माओवादी केन्द्रले थारुहरुलाई भोट बैंकका रुपमा मात्र प्रयोग गर्ने सोच्नु भूल हुने चेतावनी दिए । उनले भने, “प्रचण्डलाई हामी सोध्छौं, थारुमाथि किन अन्यायमा राख्ने ? किन भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने ? हिजोका दिनमा जनयुद्धमा थारु समुदायले मुक्ति वा मृत्युको नारा लिएर आफ्नो सम्पूर्ण जीवन समर्पित गरेको हो । थारुको उपस्थिति ‘माओवादी बोले तो थारु, थारु बोले तो माओवादी’ भन्ने खालको थियो । अहिले त्यसलाई चटक्कै बिर्सन मिल्दैन । ५ वर्ष लगानी नभएकालाई केन्द्रीय सदस्य बनाउने अनि २५ वर्ष लडेकालाई यसरी नै हेपाहा प्रवृत्ति देखाउने हो भने हामी पनि मरता क्या नही करताको स्थितिमा जान सक्छौं ।”
आफूले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर केन्द्रीय समितिमा थारुलाई २० प्रतिशत आरक्षणको माग गरेको पनि स्मरण गरे । उनले भने, “म प्रचण्डजीकहाँ जाँदा रमेश मल्लको डायरीमा मेरो नाम टिपाउन लगाउनु भयो । तर मेरो नाम समेत परेन । थारुको जातै सोझो । चाकरी जिनमै छैन । हामी पार्टीको इमानदार कार्यकर्ता हो । सेल कमिटीमा पठाए पनि काम गर्छौं । तर नेतृत्वको व्यवहार तिमीहरुको काम छैन, आफ्नो बाटो लाग भनेजस्तो भयो ।”
यति हुँदाहुँदै पनि पार्टी छाड्ने बारेमा नसोचेको पनि उनले बताए । थारुले थपे, “माओवादी भनेको २४० वर्षेका एकात्मक राज्य व्यवस्थाको अन्त्य गरेर लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता स्थापना गरेको पार्टी हो । हामी पार्टीबाट बाहिरिँदैनौं आफ्ना लागि पार्टीभित्रै लड्छौं । तर हेपाहा प्रवृत्ति सधैं सहन सकिँदैन ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot