Logo

“गिरिजाबाबु क्रान्ति र शान्ति दुवैका नायक”



काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गिरिजाप्रसाद कोइरालालाई क्रान्ति र शान्ति नायकका रुपमा स्मरण गर्नुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “नेपालको लोकतान्त्रिक आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको अत्यन्त महत्तवपूर्ण र प्रेरणादायी योगदान छ । २००७ सालदेखि २०४६ सम्म उहाँले क्रान्तिको नेतृत्व गर्नुभयो भने आम जनतालाई चिहिलबिहिल पार्ने माओवादी आतंक र हिंसाका बेला लोकतन्त्रको रक्षाका लागि शान्तिप्रक्रियाको पनि नेतृत्व गर्नुभयो । त्यस अर्थमा गिरिजाबाबु क्रान्ति र शान्तिको नायक दुवै हुनुुहुन्छ ।”
के नेपाली कांग्रेसले गिरिजाबाबुलाई बिर्सेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा पौडेलले भने, “कांग्रेसले गिरिजाबाबुलाई बिर्स्यो भने आफ्नै इतिहासलाई बिर्सेको ठहरिन्छ । चैत ७ मा स्मृतिसभा गर्ने भन्दा पनि कांग्रेस चुनावतिर लागेको छ । ठाउँठाउँमा कार्यक्रम हुँदा गिरिजाप्रसादलाई सम्झने काम नहुने प्रश्नै छैन ।”
पौडेलले गिरिजाबाबुको नेतृत्वमा आफूले माओवादीसँग पहिलो पटक वार्ता गरेको पनि स्मरण गरे । उनले थपे, “गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा म गृहमन्त्री थिएँ । पद्मरत्न तुलाधरले बिहानै मलाई सानो गाडीमा हालेर पाटनको कुनै ठाउँमा माओवादी नेता रविन्द्र श्रेष्ठलाई भेटाउनुभएको थियो । त्यतिबेला मैले भनेको थिएँ, तपाईंहरु बाघको घोडा चढ्नुभएको छ, कतिन्जेल चढ्नुहुन्छ यो घोडा ? यो घोडाबाट ओर्लिनुभएन तपाईंहरुलाई खान्छ । तर म घोडाबाट आरोल्न सहयोग गर्छु । अन्ततः मेरै नेतृत्वमा विस्तृत शान्ति सम्झौता भयो । माओवादीको सेना, हतियार र पार्टी छुट्याइयो । अन्ततः बाघबाट ओर्लेको सवारलाई बचाउने काम भयो ।”
तर शान्तिप्रक्रिया अझै पनि नटुंगिएको नेता पौडेलको भनाइ छ । उनले भने, “हाम्रो प्रयासमा ननडेमोक्रेटलाई डेमाक्रेट बनाउने काम त भयो । तर शान्तिप्रक्रिया अझै पनि टुंगिएको छैन । बेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सक्रिय भएनन् । द्वन्द्वपीडितलाई राहत दिने काम भएको छैन । सत्यनिरुपरणमार्फत परिपुरण दिने हो भने शान्तिप्रक्रियाले निष्कर्ष पाउँथ्यो । यसमा शान्तिसम्झौताको हस्ताक्षरकर्ता माओवादी अध्यक्ष प्रचण्डजी पनि गम्भीर हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्