Logo

इन्टरनेट सेवा प्रदायकले तिरेनन् पोल भाडाको बक्यौता



काठमाडौं, चैत ८ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनीहरू कम्पनीहरूले पोल भाडाको बक्यौता भुक्तानी नगरेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।

गत असोजमा प्राधिकरण र इन्टरनेट तथा केबल सेवा प्रदायकबीच कात्तिकभित्र पोल भाडाको बक्यौता तिर्ने सम्झौता भएको थियो । त्यतिबेला पोल भाडा लगाउने विषयमा नयाँ सम्झौता गर्ने सहमति समेत भएको थियो । तर, तोकिएको म्याद सकिएको ३ महीना बितिसक्दा पनि सम्बन्धित सेवा प्रदायकले बक्यौता नबुझाएको प्राधिकरणको भनाइ छ ।

यसैगरी सेवा प्रदायक कम्पनीहरू पोल भाडा सम्बन्धमा सम्झौता गर्न पनि नआएको प्राधिकरणले बताएको छ । इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकहरू बक्यौता तिर्न तथा नयाँ सम्झौता गर्न नआएपछि प्राधिकरणले पुनः तार काटिदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै तत्काल बक्यौता तिर्न भनेको छ ।

सेवा प्रदायकले बक्यौता नतिरे पुनः तार काटिदिने प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताएका छन् । ‘हामीले पोल भाडा बापतको बक्यौता तिर्न सूचना जारी गरिसकेका छौं । सूचनामा तोकिए बमोजिम सेवा प्रदायक कम्पनीहरू बक्यौता तिर्न नआए तार काट्नेछौं,’ उनले भने । इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले भने तत्काल यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए ।

गत असोजमा पोल भाडासम्बन्धी विवाद अल्पकालीन तथा दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले कार्यदल गठन समेत गरिएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot