Logo

निर्वाचन आयोगका काम कारबाही शंकास्पद छन्ः ठाकुर गैरे



काठमाडौं, ८ चैत । नेकपा एमालेका नेता ठाकुर गैरेले निर्वाचन आयोगका गतिविधि शंकास्पद भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गैरेले भने, “स्थानीय तहको निर्वाचनमा बहालवाला पदाधिकारीले राजीनामा गर्नुपर्ने जस्तो आचारसंहिता जारी गर्दा निर्वाचन आयोगले राजनीतिकि दलहरुसँग किन परामर्श गरेन ? यो संविधान र ऐन कानुन विपरीत छ । संविधानले एक दिन पनि जनप्रतिनिधिविहीन हुनुहुँदैन भनेको अवस्थामा आयोगलाई यस्तो निर्णय गर्ने अधिकार कसले दियो ? निर्वाचन आयोगको गठबन्धनलाई बलियो बनाउने र चुनाव जिताउने नियत हो कि होइन ? निर्वाचन आयोगका काम कारबाही शंकास्पद छन् ।”
नेता गैरेले एमालेमा अहिले पहिलेजस्तो दुई धार नभएको पनि बताए । उनले थपे, “अहिले प्रचण्ड र माधव नेपाल कम्युनिस्ट पार्टी विभाजन र विखण्डन गरेर बुर्जुवा शक्तिको बुई चढेर हिँडिरहनुभएको छ । हामीले वामपन्थी दलहरुबीच एकता र ध्रुवीकरण हुनुपर्छ भनिरहेका छौं । तर अहिले एमालेमा दुई धार छैन । हुुनुपर्ने आवश्यकता पनि छैन ।”
एक्लै जित्ने ठाउँमा एक्लै र एक्लै नजित्ने ठाउँमा मिलेर जान तयार रहेको उनले बताए । गैरेले भने, “चुनाव जित्ने परिस्थिति निर्माणका लागि कस्तो रणनीति बनाएर जानुपर्छ, त्यही गर्ने हाम्रो धारणा हो । एक्लै जित्ने ठाउँमा एक्लै र एक्लै नजित्ने ठाउँमा मिलेर जान तयार छौं ।”
एमालेको आगामी केन्द्रीय कमिटी बैठकले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको तयारी, अध्यक्षको राजनीतिक प्रतिवेदनमा छलफल, उम्मेदवार छनोटको मापदण्ड, घोषणापत्र आदिको निर्णय गर्ने पनि गैरेले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्