एजेन्सी, ८ चैत्र । पाकिस्तानको सिन्ध प्रान्तमा सोमबार एक हिन्दु युवतीको गोली हानी हत्या गरिएको छ । जानकारी अनुसार सुक्कर जिल्लामा बालिकाले अपहरणको विरोध गरेपछि अपहरणकारीले उनको टाउकोमा गोली हानेका हुन् । बालिकाको नाम पूजा कुमारी ओडे हो, उनको उमेर १८ वर्ष छ । जबरजस्ती धर्म परिवर्तन र अपहरणको असफल प्रयासपछि उनको हत्या भएको थियो।
सुक्कर जिल्ला एसपीले पूजाको हत्याका मुख्य अभियुक्त वाहिद बक्श लासारीलाई पक्राउ गरिएको बताए । लसरीबाट हतियार पनि प्रहरीले बरामद गरेको छ । आरोपी वाहिद बक्सले पूजालाई अपहरण गरेर उनीसँग विवाह गर्न चाहेको एसपीले बताए ।
पूजाका बुबाले इन्डिपेन्डेन्ट उर्दूलाई भने कि सिन्धमा हिन्दू केटीहरूलाई अपहरण र जबरजस्ती धर्म परिवर्तनका धेरै घटनाहरू छन्, तर यी घटनाहरूमा हिन्दू केटीहरूले स्वेच्छाले इस्लाम धर्म परिवर्तन गरेको बताइएको छ। मेरी छोरीले विवाह र धर्म परिवर्तन गर्न अस्वीकार गरेपछि उनको हत्या भयो।
पूजाका बुवाले भने ‘आरोपितले विगत केही महिनादेखि मेरी छोरीलाई दुव्र्यवहार गर्दै आएका थिए । उनी पटक–पटक जबरजस्ती घरभित्र पसे । सुक्कर प्रहरीसँग पनि सुरक्षा मागेँ तर प्रहरीले सुरक्षा दिएन ।’ घटनापछि आफन्तले शव राष्ट्रिय राजमार्गमा राखेर विरोध समेत गरेका थिए । जसका कारण करिब २ घण्टा राजमार्ग जाम भएको थियो ।