Logo

वर्तमान सरकार नेपालको राष्ट्रियता बचाउन सक्षम हुन्छ जस्तो मलाई लाग्दैन् : रघुवीर महासेठ (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले नेपाल एकीकरण भएपछि आजको दिनसम्म कसैको पनि गुलाम भएर नबसेको उल्लेख गर्दै नेपालीलाई आफ्नो राष्ट्रियता कसरी बचाउनुपर्छ भन्ने राम्रो ज्ञान रहेको बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महासेठले भारतका अवकाशप्राप्त मेजर जनरल विश्वम्भर दयालले नेपाल युक्रेन बन्ने भनेर दिएको टिप्पणीमा पनि असहमति जनाए । उनले भने, उहाँले जुन कुरा भन्नुभएको छ, त्यो गलत भन्नुभएको छ। उहाँले आत्मआलोचना गर्नुपर्छ । यदि उहाँले आत्मआलोचना गर्नुभएन भने भारत सरकारले उहाँको अभिव्यक्तिलाई निजी विचार हो भनेर भन्नुपर्यो । उनले नेपाल र भारतबीच खासै समस्या नरहेको जिकिर गरे ।

उनले भने-“लिपुलेक, कालापानी र लिम्पियाधुराको सिमा विवादबाहेक अहिले दुई देशबीच तुरुन्तै कुनै समस्या मैले देखेको छैन् । तर, हामीबीच जुन सिमा विवादको समस्या छ, यो त नेपालको लागि मेजर समस्या हो ।” उनले प्रचण्ड र माधव नेपालजस्त क्रान्तिकारी भनिएका नेताहरु अहिले भारतसँगको सिमा विवादबारे चुपचाप बसेको भन्दै आक्रोश पोखे । उनले वर्तमान सरकार नेपालको राष्ट्रियता बचाउने सवालमा सक्षम हुनेमा आफूलाई विश्वास नरहेको पनि टिप्पणी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महासेठले देशको राष्टियता भने खतरामा परेको भनेर नभनेको स्पष्ट पारे । उनले भारत र चीन दुवै नेपालको असल छिमेकी देश भएकोले दुवै देशसँग नेपालले आँखामा आँखा जुधाएर कुरा गर्नुपर्नेमा जोड दिए । त्यो काम आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा गरेको उनको दाबी छ ।

उनले रुस र युक्रेनको बीचमा जारी युद्धबारे बोल्दै यसमा नेपाल सरकारले युक्रेनको पक्षमा मतदान गर्नु गलत भएको आरोप लगाए । उनले नेपाल सानो र शान्त देश भएको जिकिर गरे । उनले रुस र युक्रेनको युद्धको मामिलामा भारत र चीन तटस्थ बसेको तर नेपालले भने एउटाको पक्ष लिएर मतदान गर्नु नै गलत भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्