काठमाडौं, चैत ९। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरि करोडौं मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गरेको छ । नाकाहरूमा चोरी पैठारीमार्फत करोडौं मूल्यका रड, सिमेन्ट, खाद्यन्न, कपडा, चिनी, हार्डवेयर सामानको तस्करी हुने क्रम बढेपछि राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गरेको हो ।
राजस्व विभागले तस्करी गर्नेहरूलाई पक्राउ गरी कारबाही थालेको छ । विभागले सुरक्षाकर्मीसहितको टोली नाकाहरूमा पठाएर अनुगमनलाई तीव्रता दिँदै आएको छ । विभागको विशेष सुरक्षा टोलीले केही दिनअघि विभिन्न नाकाबाट सामान तस्करी गरी काठमाडौं ल्याएर बिक्रीवितरण गरेका केही व्यक्तिलाई पक्राउ गरेको छ । तस्करी गर्नेहरूको व्यापक खोजतलास भइरहेको विभागका अधिकारीले बताएका छन् ।
राजस्व अनुसन्धान विभागका अनुसार नवलपरासी, सिराहा, सप्तरी, वीरगन्जको ठोरीलगायतका नाकाबाट भन्सार छली गरी ठूलो मात्रामा सामान भित्रिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले त्यस क्षेत्रमा अनुगमनलाई तीव्रता दिएको छ । अहिले पनि लुकिछपी करोडौं मूल्यका विभिन्न सामान भित्रने क्रम रोकिएको छैन ।
राजस्व अनुसन्धान विभागले तस्करी नियन्त्रण गर्न भीसीटीएस प्रणाली लागू गरे पनि कतिपय व्यवसायीले कारोबार गर्दा सो प्रणालीमा आबद्ध नगरी कारोबार गरिरहेका छन् । विभागले सो प्रणालीमा आबद्ध नहुनेहरूलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।
वस्तुको ओसारपसार गर्दा बिल र भीसीटीएस प्रविष्ट गरेको प्रमाणसँगै लिएर चालक एवं संलग्न कर्मचारी हिँडेको तर कतिपय कारोबार वैधानिक तवरबाट पैठारी नभएका वा खरिद भएका वस्तु मात्र नभई चोरीपैठारीबाट भित्रिएका मालवस्तुसमेत एकै बिलविजकबाट ओसारपसार गरेको पाइएकाले त्यस्तो कार्य दण्डनीय हुने भएकाले त्यस्तो नगर्न विभागले चेतावनी दिएको छ । राजधानी दैनिकबाट