Logo

वीरगन्जमा व्यक्ति जता गए पनि जसपा जहाँको त्यहीँ छः मनीष सुमन



काठमाडौं, ९ चैत । जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले गठबन्धन नभए पनि आफ्नो पार्टी एक्लै निर्वाचन लड्न सक्षम रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “गठबन्धनमा जानेबारेमा नेता, नेताहरुबीच अनौपचारिक छलफल भएका छन् । तर औपचारिक रुपमा गठबन्धनमा छलफल भएका छैनन् । हामीले स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन खुला गरेका छौं । केन्द्रले त्यसरी गरेको गठबन्धनको अनुमोदन गर्ने हो । तर हामी एक्लै लड्न पनि सक्षम छौं ।”
गठबन्धन गर्ने हो भने स्पष्ट मापदण्ड बनाउनुपर्ने उनले औंल्याए । सुमनले भने, “सनकमा शासन चलाउनेलाई सडकको आदेशमा हामीले मुक्त गर्न सफल भयौं । अब पनि केपी ओली प्रवृत्तिले टाउको उठाउन नपाओस् भनेर गठबन्धन प्रतिनिधिसभा निर्वाचनसम्म जानुपर्छ । तर मलाई यो चाहिन्छ, त्यो चाहिन्छ, भन्न पाइन्छ । तर दुनियाँ हास्ने गरी भन्नुभएन । त्यसमा केही न केही तथ्य हुनुपर्यो । पहिले जितेकालाई मान्ने हो कि ? पार्टी वा उम्मेदवारको लोकप्रियतालाई मान्ने हो कि ? गत निर्वाचनमा पाएको जनमतलाई आधार मान्ने हो कि ? स्पष्ट मापदण्ड बनाऔं ।”
गठबन्धन भएमा वीरगन्ज महानगरपालिकामा जसपाले दाबी नछाड्ने सुमनले बताए । उनले भने,”वीरगन्जमा गत निर्वाचनमा हामीले जितेका थियौं, फेरि पनि जित्नेछौं । व्यक्ति अर्को पार्टीमा गएर केही फरक पर्दैन । निकटतम प्रतिद्वन्द्वी जसपामा प्रवेश गरेको स्थिति छ । व्यक्ति जहाँ गए पनि जसपा जहाँको तहीँ छ ।”



प्रतिक्रिया दिनुहोस्