Logo

सानो पार्टीले ठूलो पार्टीलाई नेतृत्व गर्दा आम कार्यकर्तामा निराशा छाउँछः कांग्रेस नेता



काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टीका आम कार्यकर्ता सैद्धान्तिक रुपले तालमेलको विपक्षमा रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “प्रतिस्पर्धीभन्दा कमजोर भएको ठाउँमा अरु पार्टीसँग सहकार्य गर्नु ठीकै हो । तर, एक्लै लडेर जितिने ठाउँमा पनि तालमेल गर्ने अझ आफ्नो ८० प्रतिशत हिस्सा रहेको ठाउँमा ५ वा १० प्रतिशतलाई नेतृत्व दिने कुराले हाम्रा साथीहरुलाई प्रतिस्पर्धा गर्नबाट वञ्चित गर्छ र आम कार्यकर्तामा निराशा छाउँछ । त्यसैले नेपाली कांग्रेसका आम साथीहरु सैद्धान्तिक रुपले तालमेलको विपक्षमा छन् ।”
नेता पोखरेलले तालमेल केन्द्रले लाद्नुभन्दा पनि तलबाटै गर्नुपर्ने औंल्याए । उनले थपे, “केपी ओलीको प्रतिगमनलाई निस्तेज पार्नका लागि ५ दलको भूमिकालाई नकार्न सक्दैन । तर, केन्द्रबाट गठबन्धन लाद्नुभन्दा पनि तलबाटै स्वतःस्फूर्त रुपमा हुनुपर्छ । घरघर जाऊँ, कांग्रेस जिताऔं अभियानले कांग्रेसको संगठन विस्तार भएको छ । हामीले आफ्नो आत्मबललाई कमजोर ठान्नु हुन्न । नेपाली कांग्रेस राजधानीदेखि गाउँबस्तीसम्म संगठन भएको पुरानो पार्टी हो । एक्लै जित्न सक्ने ठाउँमा गठबन्धन गर्नुहुन्न ।”
विगतमा एमालेले जितेको ठाउँमा एकीकृत समाजवादीलाई दिनुपर्छ भन्नु हास्यास्पद हुने उनले बताए । पोखरेलले भने, “त्यो भनेको एमालेलाई सीधै छाडिदिनुस् भनेको हो । जस्तो हाम्रो प्यूठानमा समाजवादीको वडाध्यक्ष जित्ने हैसियत पनि छैन । बरु हिजो एमालेले जितेको ठाउँमा कांग्रेसले आफ्नो हैसियत बनाएको छ । यो कुरा केन्द्रका नेताले भन्दा जिल्लामा बस्ने साथीहरुलाई थाहा छ । चुनाव रणनीति र गणित दुवै हो । वडाअध्यक्ष, सदस्य बाँड्नुपर्ने ठाउँमा प्रमुख वा उपप्रमुख दिनु गल्ती हुन्छ । कार्यकर्ता कसैका दास होइनन् ।”
उनले मन्त्रिपरिषद् पुनर्गठनको अधिकार प्रधानमन्त्रीलाई भएको पनि बताए । पोखरेलले भने, “पार्टीका तर्फबाट को को मन्त्री हुने भन्ने कुरा पार्टी सभापति एवं प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । कसले पार्टीलाई सबल बनाउन सक्छन्, जनतालाई कसले सेवा दिन सक्छन् ? सक्षम व्यक्तिलाई मन्त्री बनाउनुपर्छ । मुख्य कुरासर्भिस र डेलिभरी हुनुपर्यो ।”
चिनियाँ विदेशमन्त्री वाङको भम्रणमा नेपालले भूकम्पपछिको अघोषित नाकाबन्दी र सीमा अतिक्रमणको कुरा स्पष्ट रुपमा उठाउनुपर्ने उनले औंल्याए । पोखरेलले भने, “चिनियाँ विदेशमन्त्री वाङको भम्रणमा अघोषित नाकाबन्दीको कुरा उठाउनुपर्छ । हामीले निर्यात गरेका होइनौं, चीनकै समाना आयात गरेका हौं । हाम्रो उत्तरी सीमा अतिक्रमित भएको समाचार आएको छ । यी विषयबारे स्पष्ट रुपमा कुरा राख्नुपर्छ । साथै एक वर्षमा हामीले १२ खर्ब पूर्वाधारमा लगानी गर्नुपर्छ । विश्व बैंक र अन्तर्राष्ट्रिय संस्थाभन्दा सस्तो दिन्छ भने ऋण लिन पनि तयार छौं । तर चीनबाट प्रविधि र अनुदान ल्याउन जोड दिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्