पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो संकलन गरेका थिए । जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६ चैतदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा यात्रा जारी रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । सप्तरी पछि रौतहट, सिरहा, सर्लाहीलगायतका जिल्लामा माटो यात्रा हुने उनले बताए ।
नेता साहका अनुसार किसान, आमसर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रुपमा भेटघाट गर्न जनमत माटो यात्रामा तीब्रता दिइएको हो । ‘तराई-मधेसका गाउँगाउँमा पुगेर अध्यक्षज्यूले सर्वसाधारणलाई भेट्दै हुनुहुन्छ,’ नेता साहले भने, ‘मधेस एकता उद्यान स्थापनाका लागि तराई- मधेसको विभिन्न स्थानीय तहबाट माटो संकलन गर्ने कार्यक्रमको रुपमा जनमत माटो यात्रा सुरु गरिएको थियो । निर्वाचन नजिकिएपछि यसलाई निर्वाचन केन्द्रित कार्यक्रमको रुपमा पनि अगाडि सारिएको छ ।’
स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने नेता साहको भनाइ छ ।
‘हाम्रो पार्टीले केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन गर्दैन । स्थानीय नेतृत्वले आफू अनुकुल कोहीसँग पनि तालमेल गर्न सक्छन्,’ उनले भने, ‘चुनावको तयारीमा हामी धेरै पहिलेदेखि नै कभरेज अभियान, बुथबुथ मजबुत अभियान र जनमत माटो यात्रा गरिरहेकोले ग्राउण्डमा हाम्रो शक्तिको अनुमान हामीले लगाएका छौं । त्यसकारण हामी एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं ।’