एजेन्सी, ९ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढेको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था बनेको छ ।
इमरान खानको दल पाकिस्तान तेरिक ई इन्साफमा विद्रोह भएपछि नयाँ घटनाक्रम विकास भएको छ । खानले पैसा खुवाएर सत्ता नजोगाउने बताएका छन् । उनले आफ्ना केही सांसदहरु पैसामा बिकेको आरोप समेत लगाएका छन् । खानले विपक्षी पाकिस्तान पिपल्स पार्टीमाथि सांसद खरिद विक्रीमा २० करोड खर्च गरेको आरोप लगाएका छन् ।
पाकिस्तानका पूर्व क्रिकेट कप्तान खानलाई विगतमा त्यहाँको शक्तिशाली सेनाको पनि साथ थियो । तर, त्यहाँको सेनाले पनि उनको साथ छाडेको बताइएको छ । उनीमाथि राजीनामाको दबाब बढाइएको छ । इमरान खानकोदलका राजा रिया, नुर आलम खानलगायतले गम्भीर आरोप लगाएका छन् । खानविरुद्ध लागेका २४ सांसदका कारण उनको सत्ता ढल्ने निश्चितप्रायः भएको छ ।
इमरानलाई पाकिस्तानको गुप्तचर संस्था आइएसआइले पनि साथ नदिएको त्यहाँका सञ्चारमाध्यममा आइरहेको छ । उनीमाथि विदेशीको स्वार्थका लागि काम गरेको विपक्षी दलका नेता बिलवाल भुट्टोले आरोप लगाएका छन् । उनलाई विदेशीको एजेन्ट सम्म भने । खानले भने सत्ताबाट हटेमा विपक्षीका लागि झन् खतरनाक बन्ने धम्की दिएका छन् ।