Logo

गठबन्धन जनताबाट तिरस्कृत लोभीपापी चमेराहरूको गठजोड होः एमाले सचिव रायमाझी



काठमाडौं, १० चैत । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले गठबन्धन जनताबाट तिरस्कृत लोभीपापीको गठजोड भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन पार्टीमा निराशामात्र छ । गठबन्धन भनेको जनताबाट तिरस्कृत लोभीपापीको झुन्ड हो । यो चमेराको गठजोड हो । स्वार्थीहरुको झुन्ड हो । सर्वोच्च अदालतसँग परमादेश फर्माइस गरेर सरकारमा आएको छ । यसले व्यवस्थापिकाको औचित्य समाप्त गर्यो, न्यायालयको शाख सखाप पार्यो । गठबन्धनले हार स्वीकार गरिसक्यो । अबको चुनाव जनादेश र परमादेशबीचको लडाइँ हो ।”
पार्टी फुटेका बेला एमालेले ६० प्रतिशत जित्ने कुरा हावादारी होइन भन्ने पत्रकार धमलाको प्रश्नमा रायमाझीले थपे, “अहिले लाखौंको सभामा हजारौं, हजारौंको सभामा सयौंको पार्टी प्रवेश भइरहेको छ । दिनहुँ २ लाख मानिस एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले फुटेको होइन, चोइटिएको हो । अहिले त्यो भन्दा कति गुणा धेरै जुटेको छ ।”
गठबन्धन सरकारका कारण मुलुक टाट पल्टिन लागेको आरोप पनि उनले लगाए । उनले भने, “अहिले देशको अर्थतन्त्र ध्वस्त भएको छ । अर्को बजेट आउने बेला भैसक्यो, २० प्रतिशत पनि खर्च भएको छैन । महँगीले आकाश छोएको छ । यसलाई कसरी सरकार टिकाउने भन्ने मात्र ध्याउन्न छ, राष्टका लागि भिजन छैन । त्यसैले एमाले दुई तिहाइ हाराहारीमा चुनाव जित्ने तयारीका साथ चुनावमा होमिएको छ ।”



प्रतिक्रिया दिनुहोस्