काठमाडौं, १० चैत्र । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ स्थित श्री लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद गैह्रेसमेत ३ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ। प्रधानाध्यापक गैह्रेसमेतले आर्थिक हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा गैह्रे र तत्कालीन प्रा.वि. द्वितीय (लेखा) शिक्षक गुनाखर गैह्रेसमेतले मिलेमतो गरी विद्यालय सहायक अनुदान कोटामा कार्यरत शिक्षकको नाममा २०७५ चैत्र महिनाको तलब हस्ताक्षर बिना निकासा गरेको साथै शिक्षक तुलसा रेग्मीलाई विदेश जाने वातावरण मिलाई सो समयमा विद्यालयमा हाजिरी देखाई/गरी निज तुलसा रग्मीको नाममा तलब भत्ता निकासासमेत गरी ३ लाख ९३ हजार ७८८ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएकोे थियो ।
उनीहरु तीनजनाविरुद्ध ३ लाख ८२ हजार २ सय ८८ रुपैयाँ कायम गरी उक्त विगो असुलउपर गर्ने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।