काठमाडौं, १० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए ।
पोलिटब्यूरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनोटको मापदण्डसमेत पारित गरेको छ ।
स्थानीय कमिटीले उम्मेद्वार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेद्वारको छनोट गर्नेछ ।