काठमाडौं, १० चैत्र । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवाको केन्द्रीय कमिटीमा दुई तिहाईको वर्चश्व छ । पदाधिकारी देखि महत्वपूर्ण पदमा उनी पक्षधर हावी छन् । सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा डा. शेखर कोइरालालाई पराजित गरेर जितेका देउवाले पछिल्लो निर्णयमा एकलौटी गरिरहेको आरोप छ ।
मनोनित केन्द्रीय सदस्यहरु बनाउँदा देउवाले शेखर कोइराला पक्षधरलाई बेवास्ता गरेका छन् । उनले नेविसंघ र तरुण दलको तदर्थ समिति बनाउँदा पनि शेखरसँग छलफल नगरेको खुलेको छ । यसकारण उनी रुष्ट भई अलग्गै बैठक गर्न थालेका छन् ।
कोइरालाले नेविसंघ र तरुण दलको तदर्थ समिति गठनमा व्यक्तिप्रति नभई प्रवृत्तिप्रति आपत्ति रहेको बताइसकेका छन् । उनले नेविसंघ र तरुण दलमा समानान्तर गतिविधि गर्ने चेतावनी दिएको बुझिएको छ ।
शेखर समूहले नेविसंघ र तरुण दलको अलग्गै भेला डाक्ने भएका छन् । उनले आफ्नो समूहको अगल भेला गर्दै आएका छन् । सभापतिको प्रतिष्पर्धामा आफ्नो मतको सम्मान गर्न जोड दिदै आएका छन् ।
कोइरालाले पछिल्लो समय चालेका कदमहरु पार्टी संगठन देखि भातृ संगठनहरुसम्म भागवण्डाको सुनिश्चितताका लागि भएको बुझिएको छ । उनले आउँदो चुनावमा पनि कम्तिमा ४० प्रतिशत भागवण्डाका लागि रणनीति चाल्न थालेका छन् । विगतमा देउवा संस्थापनइतर समूहमा हुँदा ४० प्रतिशत भागवण्डा लिने गरेका थिए । शेखरले त्यही चाहेको देखिन्छ । तर, देउवाले शेखरको चाहनालाई बेवास्ता गर्दै आएको बुझिएको छ ।