Logo

चीन–नेपाल रेलको विषय उठाउँदै नेपाल



काठमाडौं, चैत १२ । सरकारले उत्तरी छिमेकी चीन सरकारसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाको निर्माणका लागि विस्तृत अध्ययनको प्रस्ताव राख्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीसँग रसुवागढी–काठमाडौं रेलमार्ग परियोजनाका निर्माणका लागि विस्तृत अध्ययन गरिदिन प्रस्ताव गर्ने भएको हो ।

यसअघिको चिनियाँ सरकारको नेपाल भ्रमणका क्रममा नेपाल–चीन रेलमार्गको योजनाको विषयमा पटकपटक चर्चा हुने गरे पनि काम भने अघि बढ्न सकेको छैन ।

यसअघि, करिब तीन वर्षअघि चिनियाँ सरकारकै सहयोगमा यो रेलमार्गको सम्भाव्यता अध्ययन भएको थियो । त्यसयता विस्तृत अध्ययनको काम भने अघि बढ्न सकेको छैन ।

करिब तीन वर्षअघि चाइना फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिट्युटले गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनले रेलमार्ग निर्माण सम्भव रहेको देखाएको छ । साथसाथै अध्ययनले देखाए पनि जटिल भूगोलका कारण निर्माण चुनौतीपूर्ण रहेको पनि देखाएको छ ।

सम्भाव्यता अध्ययनअनुसार सो रेलमार्ग करिब ७२ किलोमिटर लम्बाइको हुनेछ भने नौ वर्षमा काठमाडौंसम्म रेल्वेको लिंक जोड्न सकिने अनुमान गरिएको छ । चीनले भने सिगात्सेसम्म रेलमार्ग निर्माण गरिसकेको छ । सिगात्सेबाट केरुङ करिब ५ सय किलोमिटर दूरीमा रहेको छ ।

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार सो खण्डमा सातवटा सुरुङमार्ग रहने जनाइएको छ भने करिब ४ किलोमिटर खण्डमा पुलमाथि रेलमार्ग निर्माण गर्नुपर्नेछ ।

निर्माणका लागि २ खर्ब ५६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । नेपाल सरकारले यसअघि पनि चीन सरकारलाई पत्राचार गरेर अध्ययन गरिदिन अनुरोध गरेको थियो ।

मन्त्रालयले रेलमार्गसँगै चिनियाँ सहयोगमा निर्माण हुन लागेको काठमाडौं चक्रपथसहित विभिन्न आयोजनाको कार्यान्वयन सम्बन्धमा पनि छलफल गर्ने तयारी गरेको जनाएको छ । यसअघि, चीनले नेपाल जोड्ने रेलमार्ग सगरमाथा राष्ट्रिय निकुञ्जको भूमिगत बाटो भएर निर्माणको अध्ययनसमेत गरेको छ ।

चीनले नेपाल–चीनबीचको प्रस्तावित रेलमार्गको विषयमा अनुसन्धान जारी रहेको बेला चिनियाँ पक्षले विभिन्न ६ वटा विकल्पमा छलफल अघि बढाएको थियो । ६ विकल्पमध्ये कुनमा जाने भन्नेमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot