काठमाडौं, १२ चैत । नेकपा (एकीकृत समाजवादी)ले महासचिव डा. बेदुराम भुसाल नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टीलगायत दलसँग गठबन्धन गर्न संवाद गर्ने कार्याधिकार कार्यदललाई दिइने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
कार्यदल गठन केही दिनमै हुने पनि उनले बताए । ‘प्रतिगमनविरोधी शक्तिलाई परास्त गर्न भए पनि गठबन्धन बनाएर निर्वाचनमा जानुपर्ने हाम्रो बुझाइ हो र सत्तारुढ गठबन्धनका घटकहरू पनि गठबन्धनको पक्षमा छन्’, खतिवडाले न्युज कारखानासँग भने, ‘महासचिवको नेतृत्वमा गठबन्धनबारे संवाद गर्न कार्यदल गठन गर्ने तयारीमा छौँ । नेताहरू उपत्यकाबाहिर भएकाले ढिलाई भएको हो ।’
माधवकुमार नेपाल नेतृत्वको उक्त दल पहिलोपटक निर्वाचनमा जाँदैछ । निर्वाचनबाट राष्ट्रिय दल बन्न चुनौती छ । महाकाली सन्धिप्रति विरोध जनाउँदै २०५४ मा एमालेबाट अलग भएर नेता बामदेव गौतम नेतृत्वमा नेकपा (माले) गठन हुँदा उक्त दलले २०५६ मा भएको निर्वाचनमा एक सिट पनि जितेन ।
त्यही भएर नेपाल नेतृत्वको दलले निर्वाचनमा गठबन्धनलाई पहिलो प्राथमिकता दिएको छ ।