काठमाडौं, १२ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच चुनावी तालमेलको विरोध गर्नेहरुप्रति आक्रोश पोखेका छन् । उनले काँग्रेस एक्लै चुनावमा जान खोज्यो भने कम्युनिस्टहरु मिल्नसक्ने बताए ।
आज राजधानीमा बोल्दै देउवाले भने, ‘भोलि माओवादीहरु एमालेसँग मिल्न गए भने ? प्रचण्ड चुनाव हार्न लड्छन् ? जहाँ जितिन्छ त्यही मिल्दिन्छन् ।’ प्रचण्डलाई लखेट्न नहुने भन्दै विगतको चुनावको घटना सम्झाए ।
नेकपा एमालेलाई कमजोर नआँक्न समेत देउवाले सम्झाए । कम्युनिस्टहरु मिल्न नदिनकै लागि सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन लागेको देउवाको आशय थियो । उनले भने, नेपालमा कम्युनिस्टहरुको संख्या धेरै छ । यसलाई बुझौं ।
विगतमा कम्युनिस्टहरु मिल्दा डा. शेखर कोइराला पनि चुनाव हारेको स्मरण गराए । उनले शेखर कोइरालातर्फ देखाउँदै भने, ‘हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के भएको थियो ?’ कसैलाई पनि कमजोर नआँक्न देउवाले सम्झाएका थिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने चुनावी तालमेलको विरोध गरे । उनले काँग्रेस गठबन्धन गरेर चुनावमा जाने खालको पार्टी नभएको तर्क गरे । काँग्रेसको पृथक आधार भएको समेत बताए । कोइरालाले काँग्रेसले आफ्नो विशेषता बिर्सिएर भारतको कँग्रेस आईको जस्तो हालत हुने सुनाए ।-File Photo