Logo

“पार्टीभित्र सहकार्य नभईकन बाहिर कसरी गठबन्धन हुन सक्छ ?”



काठमाडौं, १३ चैत । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले कम्युनिस्ट पार्टीहरु फुटेका बेला एक्लै लड्ने साहस देखाउनुपर्ने समय आएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “नेकपा एमालेले स्थानीय तहमा समेत पार्टीकरण गरेको छ । एमाले कति अनुदान छ भने आफूलाई भोट नदिनेलाई सिफारिससम्म पनि दिँदैन । तालमेल सिद्धान्त होइन, चुनावी रणनीति हो । कम्युनिस्ट पार्टी फुटेका बेला कांग्रेसले एक्लै लड्नुपर्छ ।”

गठबन्धन नै गर्ने हो भने पनि केन्द्रबाट लादेर नभई स्थानीय आवश्यकता अनुसार गनुपर्नेमा उनको जोड छ । उनले थपे, “हामीले विगतमा ६३ सिट पाएर प्रतिपक्षमा बसेका थियौं । पछि गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गर्ने अवसर पायौं, राष्ट्रिय सभामा जित्ने मौका पायौं । नेकपा एमालेको एकलौटी शासन गर्ने शैली विरुद्ध जान र स्थानीय सरकारमा धेरैभन्दा धेरै प्रतिनिधि पठाउने हो भने कतिपय स्थानमा स्थानीय तहमा गठबन्धन हुन सक्छ । तर रोल्पा, रुकुममा अरुले जितेको ठाउँ भनेर छाड्दै गयौं भने कांग्रेस खुम्चँदै जान्छ । एकचोटि हारेको ठाउँमा फेरि जित्न सकिन्छ । जस्तो, कांग्रेसले २०५१ मा हारेको थियो तर २०५६ मा जित्यो ।”
नेपाली कांग्रेसभित्र कुनै मतभिन्नता नभएको पोखरेलले बताए । उनले भने, “महाधिवेशन सकिएपछि पार्टीभित्र गुट छैन । चुनावमा गुटउपगुट हुने होइन, एकजुट भएर जाने हो । शेखर कोइराला र शेरबहादुर देउवाबीच नेपाली कांग्रेसलाई बलियो बनाऊँ भन्नेमा विवाद छैन, शैलीमा मात्र भिन्नता हो । सभापतिले न्याय र समानता दिन सक्नुभयो भने कहिल्यै गुट, उपगुट हुँदैन । पार्टीभित्र सहकार्य नभईकन बाहिर कसरी गठबन्धन हुन सक्छ ?”
नेकपा एमाले न सत्तापक्षमा न प्रतिपक्षमा लायक रहेको उनको आरोप छ । पोखरेलले भने, “कम्युनिस्ट पार्टीको उत्तेजना, आक्रोश र अन्धराष्ट्रवादको नारा भ्रम हो भन्ने जनताले अनुभूति गरिसकेका छन् । फजुल राष्ट्रवाद र कायापलट गर्छु भन्ने सपना अब टुटिसकेको छ । उसले बहुमत माग्न जाने हो भने विगतमा पाएको बहुमतको सदुपयोग गर्न सकेन । प्रतिपक्षका रुपमा ७ महिनादेखि संसद् चल्न दिएको छैन । एमाले न सत्तामा लायक रह्यो, न प्रतिपक्षमा लायक छ ।”

अर्को प्रसंगमा उनले चीनबाट अनुदान नपाए सहुलियत ऋण लिनुपर्ने औंल्याए । उनले थपे, “चीनले नेपाललाई भूकम्पपछिको पुनःनिर्माणमा वर्षेनी १३ अर्ब सहयोग गर्दै आएको छ । भौतिक पूर्वाधार र आर्थिक विकासका लागि चीनको सहयोग आवश्यक पनि छ । सहुलियत ऋण दियो भने भोलि ब्याज तिर्न पनि सक्छौं । नेपालसँग जोडिने नाकामा भूकम्पपछि अवरोध छ । नाका खोल्दा चीनलाई नै फाइदा हो । हाम्रो तर्फबाट कुनै निर्यात छैन ।”



प्रतिक्रिया दिनुहोस्