काठमाडौं, १३ चैत्र । नेपाली काँग्रेसभित्र सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने या नगर्ने विषयमा मतभेद देखिएको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुबीच तालमेल गर्ने किन या नगर्ने विषयमा विवाद देखिएको हो ।
काँग्रेसको संस्थापन पक्षका अधिकांश नेताहरु तालमेलको पक्षमा छन् । सभापति शेरबहादुर देउवा तालमेल गरेर जानुपर्ने पक्षमा छन् । तालमेल नगरे कम्युनिस्टहरु मिल्न सक्ने तर्क गर्दै आएका छन् । उनले विगतमा डा. शेखर कोइराला समेत चुनावमा हारेको स्मरण गराउँदै एक्लै जितेर देखाउन चुनौती दिएका छन् ।
काँग्रेस नेता रामचन्द्र पौडेल पनि तालमेलको पक्षमा छन् । उनले गठबन्धन जोगाउनुपर्ने भन्दै तालमेल गरेर जानुपर्ने तर्क गरेका छन् ।
काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह पर्ख र हेरको अवस्थामा छन् । उनले देशभरको अवस्थाबारे विवरण आएपछि निर्णय लिनुपर्ने बताइरहेका छन् । उनले तालमेलको विपक्षमा बोलेका छैनन् ।
काँग्रेस नेता सुजाता कोइराला पनि गठबन्धनबीच तालमेल गर्नुपर्ने पक्षमा छिन् । उनले गठबन्धनबीच तालमेलको विरोध गर्नुको औचित्य नभएको बताइसकेकी छिन् । गठबन्धनका कारण काँग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पाएको स्मरण गराउँदै त्यसलाई बिर्सेर जान नहुने बताएकी छिन् ।
काँग्रेसको संस्थापन इतर समूह भने गठबन्धनबीच चुनावी तालमेलको विपक्षमा छन् । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले तालमेल गरेर जाँदा क्षति पुग्ने बताउँदै आएका छन् । काँग्रेसको चरित्र तालमेल गर्ने नभएको तर्क गर्दै गठबन्धन गर्दै जाने हो भने भारतको कँग्रेस आई जस्तो कमजोर हुने अवस्था बन्ने टिप्पणी गरेका छन् ।
काँग्रेस उपसभापति धनराज गुरुङ पनि तालमेलको घारे विरोधी हुन् । उनले माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीलाई चमरेको संज्ञा दिदै हात्तिको कानमा लुक्न खोजेको टिप्पणी गरेका छन् । उनी कुनै हालतमा तालमेल गर्न नहुने बताउँदै आएका छन् ।
काँग्रेस महामन्त्री गगन थापाले तालमेल गर्न नहुनेमा जोड दिएका छन् । उनले सार्वजनिक रुपमा काँग्रेसको चुनावमा एक्लै जाने विशेषता रहेको बताएका छन् । तालमेल गरेर जाँदा नोक्शान पर्ने र कार्यकर्ता असन्तुष्ट हुने बताउँदै आएका छन् ।
संस्थापनइतर समूहले तालमेलको विरोध गरेपनि देउवा पेलेरै जाने रणनीतिमा छन् । उनले २०७४ को स्थानीय चुनावमा पनि विभिन्न स्थानमा तालमेल गरेका थिए । विशेषगरी भरतपुर महानगरपालिकामा देउवाकै जोडबलले प्रचण्डकी छोरी रेनु दाहाललाई जिताउन काँग्रेसले सघाएको थियो । त्यतिबेला काँग्रेसका भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवारलाई ब्याक गराइएको थियो ।