काठमाडौं, १३ चैत्र । निखिल उप्रेती नेपाली चलचित्रका एक्सन हीरो हुन् । कुनै समय थियो निखिल नभई फिल्म नै चल्न गाह्रो हुन्थ्यो । मार्सल आर्टका खेलाडी हुँदै फिल्मी क्षेत्रमा लागेका उनले थुप्रै भोजपुरी चलचित्रमा समेत अभिनय गरे ।
पछिल्लो समय निखिलको बेग्लै रुप देख्न सकिन्छ । उनी लामो दाह्री पालेर ऋषिमुनी जस्तै देखिन्छन् । त्यसमाथि पनि गेरु रङ्गमा देखिन्छन् ।
निखिल गत शनिबार वीरगञ्जमा देखिए । उनी चलचित्रका नायक हुन् भन्ने कमैलाई लाग्दथ्यो । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान वीरगञ्जले आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचयमा सम्बोधन गर्न पुगे ।
धार्मिक व्यक्तिले अधार्मिक व्यक्तिलाई नेता मान्न नसक्ने बताए । उनले भने,‘धार्मिक व्यक्तिले अधार्मिक व्यक्तिलाई भोट दिन सक्छ ? तर नेता मान्न सक्दैन ।’
हिन्दु धर्म संस्कृतिको महत्वबारे चर्चा गर्दा निखिल ऋणमुनी जसरी प्रस्तुत भए । हिन्दु धर्म वैज्ञानिक रहेको भन्दै यसको जगेर्ना अनिवार्य भएको बताए ।
देशमा हिन्दु धर्मलाई समाप्त पार्ने गरी प्रायोजित गतिविधि भएको सुनाए । उनले आफू र आफ्नो धर्म संस्कृतिलाई चिन्नमा जोड दिए ।