Logo

कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने रिपोर्टर्स क्लब नेपालको घोषणा



काठमाडौं, १३ चैत्र । रिपोर्टर्स क्लब नेपालले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । क्लबले यही चैत्र १७ गते आफ्नो स्थापनाको २४औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारबाट बरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो ।

आज (आइतबार) बसेको क्लबको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको छ। उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । किसुनजीको नाममा क्लबले आजमात्रै उक्त पुरस्कारको स्थापना गरेको हो । उक्त पुरस्कार क्लबको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट वितरण गरिने क्लबका सभापति ऋषि धमलाले जनाए ।

पत्रकार नेपाल नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहेर महत्वपूर्ण भू्मिका निर्वाह गर्दै आएका व्यक्ति हुन् । उनीसँग सन्त नेता भट्टराईको प्रेस सल्लाहकारको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी वहन गरेको ईतिहास छ ।

पत्रकार नेपाल नेपालको मूलधारका मिडियामा नेतृत्वदायी भूमिका रहेर काम गरिसकेको र नेपाल पत्रकार महासंघको अध्यक्षसमेत भैसकेको व्यक्तित्व हुन् । उनका विभिन्न पुस्तकसमेत प्रकाशन भैसकेका छन् ।

यस्तो छ क्लबले जारी गरेको विज्ञप्ती

प्रेस विज्ञप्ती
मिति : २०७८/१२/१३

बि.सं. २०५४ चैत्र १७ गते नेपालको राजनीतिमा सन्त नेताको नामले परिचित नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उद्घाटन गरेको रिपोर्टर्स क्लब नेपाल आफ्नो २४औं वार्षिकोत्सव कार्यक्रम मनाउने संघारमा छ ।

नेपाली सञ्चार क्षेत्रमा नयाँ प्रयोगको रुपमा स्थापित रिपोर्टर्स क्लब नेपालले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा देश र जनताका लागि महत्वपूर्ण योगदान पु¥याउनुभएका विभिन्न सम्मानित व्यक्तित्वहरुको नाममा स्थापित पुरस्कारहरु वितरण गर्दै आएको छ । हरेक वर्ष दर्जनभन्दा बढि विभिन्न विधाका पुरस्कारहरु वितरण गर्दै आएको छ ।

यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालको उद्घाटन र क्लबको साक्षात्कार कार्यक्रमको पहिलो वक्ता सन्त नेता भट्टराईको स्मृतिमा क्लबले एक लाख रुपैयाँ पुरस्कार राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको छ । उक्त पुरस्कार यो वर्ष नेपाली सञ्चार क्षेत्रका अग्रज व्यक्तित्व बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय भएको अवगत गराउँदछौं ।

नेपालको सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहेर महत्वपूर्ण भू्मिका निर्वाह गर्दै आउनुभएका बरिष्ठ पत्रकार नेपालले सन्त नेता भट्टराईको प्रेस सल्लाहकारको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी वहन गरेको ईतिहास छ । पत्रकार नेपाल किसुनजीको अत्यन्तै समिपमा रहेर उहाँलाई नजिकबाट बुझ्ने अग्रज पत्रकारको रुपमा परिचित हुनुहुन्छ । बरिष्ठ पत्रकार नेपाल नेपालको मूलधारका मिडियामा नेतृत्वदायी भूमिका रहेर काम गरिसकेको र नेपाल पत्रकार महासंघको अध्यक्षसमेत भैसक्नुभएको व्यक्तित्व हुनुहुन्छ । उहाँका विभिन्न पुस्तकसमेत प्रकाशन भैसकेका छन् । उहाँलाई यो पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा म र क्लबको सिंगो परिवार गौरवान्वित भएका छौं ।

ऋषिराज धमला
सभापति

 



प्रतिक्रिया दिनुहोस्