काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्ने आफ्नै पार्टीका नेताहरुलाई हप्काएका छन् । प्रधानमन्त्री देउवाले अहिले अर्थमन्त्री शर्माले अर्थतन्त्रको सुधारको लागि पछिल्लो समय राम्रो काम गरेको भन्दै बचाउ गरेका थिए ।
पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य प्रकाश रसाईली ‘स्नेही’ ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गरेका थिए । उनले व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री देउवासँग माग गरेका थिए । स्नेहीलगायत केही नेताहरुले हिजोको बैठकमा अर्थमन्त्रीको राजीनामा मागेको कुरा आएको थियो ।
तर, सभापति देउवाले भने अहिले अर्थमन्त्रीको राजीनामा माग्ने कुरा नगर्नुहोस भन्दै सम्झाएका थिए । पछिल्लो समय प्रधानमन्त्री देउवासँग नेकपा (मओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गरेको भेटवार्तामा अर्थमन्त्रीलाई कुनैपनि हालतमा नहटाउने समझदारी बनेको छ।
अर्थमन्त्री शर्मा भने आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको सम्बन्धमा वित्तीय संघीयता सम्बन्धी बिज्ञ तथा सरोकारवालाहरुसँग छलफलमा व्यस्त छन् । उनले आफूले मुलुक र जनताको हितलाई केन्द्रविन्दुमा राखेर नै काम गरेको बताउने गरेका छन् । file photo